म्याग्दी सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ।
यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ। प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो।
बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको दुई महिना अघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । उनकाे सरुवा पछि मन्त्रालयले अर्को कर्मचारी पठाएको छैन्। बेनी अस्पताल विकास समितिका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी अस्पतालको समस्या बढ्दै गएको बताउँछन्।
हाल मेडिकल अधिकृत भुषण सुवेदीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ। कार्यालय प्रमुख नहुँदा आर्थिक गतिविधि ठप्प छ। कर्मचारी र स्वास्थ्यकर्मीले काम गर्न अटेर गर्न थालेका छन्।
अस्पतालका स्रोत साधनको दुरुपयोग हुन थालेको छ। निगरानी र नियन्त्रण नहुँदा सेवा प्रवाह कमजोर बन्न थालेको सर्वसाधारणको गुनासो छ। नेतृत्वको अभावमा काम गर्न कठिनाइ भएको मेडिकल अधिकृत बिराट शर्माले बताए।