तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि व्यवस्थापन केन्द्र निर्माण भएको छ।
नगरको फोहर व्यवस्थापन समग्र नगरपालिकाको चिन्ता र चासोको विषय भएकाले नगरलाई सफा राख्न फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो।
नगरपालिकाले चालु आर्थिक वर्षमा नै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउने नगरसभाबाटै निर्णय गरेको थियो।
सोहीअनुसार हालै मात्रै शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिनाभन्दा तल व्यवस्थित फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए।
उनका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र केही दिनभित्रै सञ्चालनमा आउनेछ। फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि २४ लाख खर्च भएको छ।
नगरपालिकाले आगामी चार वर्षभित्र पूर्ण सरसफाइ र वातावरणमैत्री नगर बनाउने लक्ष्य लिएको छ।
उक्त लक्ष्य प्राप्तिका लागि नगर क्षेत्रभित्र रहेका टोल विकास संस्थालाई सरसफाइ र वातावरणमैत्री गतिविधिमा टेवा पुर्याउन तालीम दिइनेछ। त्यस्तै वातावरण र सरसफाइको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने टोललाई प्रत्येक वर्ष पुरस्कार र सम्मानको व्यवस्था मिलाइने प्रवक्ता कुमालले बताए।