मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र प्राकृतिक स्रोतमा आधारित उद्योग खोल्दा एकल स्वामित्व कायम नहुने भएको छ ।
प्राकृतिक स्रोतमा एकल स्वामित्व हुँदा त्यसले दिने फाइदाहरु पहुँच हुनेहरुको मात्रै हुने भएकाले सामूहिक स्वामित्व भएका उद्योगहरुका लागि मात्रै खानीजन्य उद्योगहरु सञ्चालन गर्न दिने नीति कैलाश गाउँपालिकाले लिएको हो । जस अनुसार कम्तीमा २५ जना मिलेर गठन भएको समूह, संस्था तथा कम्पनीले मात्रै प्राकृतिक स्रोतमा आश्रित उद्योगहरु सञ्चालन गर्न पाउने गरी निर्णय भएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए ।
आर्थिक बर्ष २०७५/७६ का लागि पारित भएको नीति यस्तो व्यवस्था गरिएको अध्यक्ष मुक्तानले जानकारी दिए । ‘हामीले आन्तरिक राजश्व, नदीजन्य पदार्थको संकलन तथा बिक्री बितरण सम्बन्धी कार्यविधि २०७५ लाई पारित गरेको छौँ’, अध्यक्ष मुक्तानले भने–‘चालू आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी गत असारको ८ गते कार्यविधिलाई गाउँसभाबाट पारित गरी एकल स्वामित्वको परिकल्पनालाई हटाएका छौँ ।’
कार्यविधिको दफा १ को उपदफा (ज) मा क्रसर उद्योगको व्यवस्था सम्बन्धी बुँदा राखिएका छन् । क्रसर उद्योगहरुसँगै प्राकृतिक स्रोतमा आश्रित काठ मिलहरु सञ्चालन गर्न पनि एकल स्वामित्वमा नदिइने कार्यविधिमा उल्लेख रहेको अध्यक्ष मुक्तानले बताए ।
समाजमा एकल स्वामित्वका उद्योगहरु चल्दा बर्गीय दृष्टिकोणले पनि पहुँच र पैसा हुनेहरुले मात्रै प्राकृतिक स्रोतसाधनमा हाली मुहाली गर्ने भएकाले सामूहिक स्वामित्वको परिकल्पना गरिएको कैलाश गाउँपालिकाले जनाएको छ ।
सामूहिक स्वामित्वका उद्योगहरु स्थापना हुँदा त्यसले दिने मुनाफा पनि सामूहिक रुपमा बितरण भएर जाने तथा लगानीमा पनि कम पुँजी भएका व्यक्तिहरुको समेत पहुँच पुग्ने भएकाले यस्तो नीति ल्याउनुपरेको अध्यक्ष मुक्तानको प्रष्टोक्ति छ ।
‘बिगतमा बाहूबल र धन प्रयोग गरेर हाम्रा क्षेत्रका खानीहरुमा निश्चित पुँजीपतिहरुले शासन गरेको तीतो अनुभव छ’, अध्यक्ष मुक्तान भन्छन्–‘हाम्रा पूर्वजहरुले जोगाइदिएको प्राकृतिक स्रोतको उपयोग आम सर्बसाधरणले गर्न पाउनुपर्छ ।’
कैलाश गाउँपालिकाका अनुसार अहिले गाउँपालिकाभित्र २ वटा क्रसर उद्योग रहेका छन् । ती उद्योगहरुलाई पनि कार्यविधिले तोके बमोजिम १५ दिने सूचना पठाएर सामूहिक स्वामित्वमा जान गाउँपालिकाले अनुरोध गर्नेछ ।
अन्यथा कार्यविधि अनुसार खारेजी प्रक्रियामा समेत ती उद्योगहरु जान सक्नेछ । कैलाश गाउँपालिकामा वनमा आश्रित काठका मिलहरु, काठमा सामाग्रीहरु निर्माण गर्ने फर्निचर उद्योगहरु, क्रसर उद्योग, बालुवा र ढुंगा उद्योग, चुनढुंगा उद्योग, सिमेन्ट उद्योगका कच्चापदार्थहरुको भण्डार रहेको छ ।