स्थानीयको लगानीमा जनकपुरमा इस्लामिक महिला विद्यालय निर्माण गरिएको छ।
जनकपुर उपमहानगरपालिका वडा नं. २३ बेलामा निर्माण गरिएको इस्लामिक महिला विद्यालय ‘जामिया हजरत आसिया सिद्दिकिया इन्स्टिच्युट’ लाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले साेमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।
हालका लागि दुई सय बालिकालाई आवास, करिव ३ सय बालिकालाई उर्दु, हिन्दी र अंग्रेजी भाषामा शिक्षा दिइने र प्राविधिक शिक्षामा सिलाई–कटाई र कम्प्युटरको शिक्षा दिने गरी उक्त विद्यालय निर्माण गरिएको बताइएको छ। उद्घाटन गर्दै मुख्यमन्त्री राउत यस्ता विद्यालयले धार्मिक शिक्षाका साथै महिला शिक्षामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले शिक्षामा पछाडि परेका मुस्लिम समुदायका बालिकाका लागि समाजकै लगानीमा महिला विद्यालय खोल्नु प्रशंसनीय रहेको बताउँदै यसले प्रदेश सरकारको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ योजनालाई समेत सहयोग पुग्ने उल्लेख गरे।
मुख्यमन्त्री राउतले प्रदेश सरकार छोरीहरुको शिक्षामा मात्र नभई रोजगारीका लागि समेत विशेष योजना ल्याएको जानकारी गराउँदै छोरीको शिक्षालाई विशेष प्राथमिकतामा राख्न अभिभावकलाई आग्रह गरे। कार्यक्रममा इन्स्टिच्युटका संस्थापक मो. अलिमुद्दिन नुरीले विद्यालयलाई दशजोड दईसम्म बनाउने आफनो योजनामा सहयोगका लागि मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराए।