गण्डकी प्रदेशसभाको लोगो सोमबार सार्वजनिक गरिएको छ । प्रदेश सभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा सभामुखले नेत्रनाथ अधिकारीसहितले चयन गरी सार्वजनिक गरेका हुन् ।
लोगोको लागि ११ जना प्रतिस्पर्धामा उत्रेको भए पनि गोरखाका विनीत रानामगरले बनाएको लोगो उत्कृष्ट भएको हो । उनी प्रदेश सभा सचिवालयका कर्मचारी हुन् । उनले २५ हजार रुपैयाँ पाएका छन् । अधिकारी संयोजकत्वको समितिले प्रदेश सभा सदस्यको पोसाक पनि टुंगो लगाएको छ । अब प्रदेश सभा सदस्यले खैरो कोट अनिवार्य लगाउनुपर्ने छ ।
प्रदेशको लोगोमा नेपालको नक्साको मध्यभागका पर्ने गण्डकी प्रदेशलाई विभिन्न जातजातिको पोसाकसहितको चित्रले छुट्याइएको छ । सिंगो नेपालको नक्साको तलमाथि गण्डकी प्रदेशका अन्य संकेत राखिएको छ ।
लोगोको २ तिरको किनारमा समृद्धिको आधारमा धानको बालालाई राखिएको छ भने सबैभन्दा तल एकता र समानताको प्रतीकका रुपमा महिला र पुरुषले हात मिलाएको देखाइएको छ । अब प्रदेशका सबै दस्ताबेजमा यही लोगो प्रयोग हुने छ ।