प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्नकोलागि प्रदेश संसदबाट विशेष समिति गठन भएको २ महिना पुग्दा लाग्दा समितिले कार्यविधि पास गर्न सकेको छैन ।
समितिका गतिविधिमा सुस्तता आएसँगै निर्धारित समयमा समितिले काम सम्पन्न गर्ने नसक्ने समितिका सदस्य तथा कांग्रेसका सांसद बीरबहादुर रानाले बताए । प्रदेश सभाको गत साउन २४ गते बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा सदस्यहरु मनोनयन गरेका थिए ।
प्रदेश ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिले ३ महिना भित्र नाम र स्थायी राजधानी सिफारिससहितको प्रतिवेदन पेश गनुपर्ने समयसिमा तोकको थियो । तर तीन महिना भित्र समिति निष्कर्षमा पुग्ने अवस्था नरहेको बिपक्षी दलका सांसदहरुले आरोप लगाउन थालेका छन् ।
बिशेष समिति गठन भएयता ५२ दिनमा जम्मा दुई वटा बैठक बसेको रानाले बताए । पहिलो बैठकमा सामान्य परिचय गर्ने काम भयो । एक आपसमा परिचित नै रहेका सांसदहरुले परिचयका अतिरिक्त कार्यविधि बनाउन संसद सचिवालयलाई जिम्मा दिँदै अर्को बैठकमा पेश गर्न भनियो । साथै, अर्को बैठकमा संयोजक चयन गर्ने भन्ने सहमती पनि गरियो ।
समितिको जेष्ठ सदस्य सरस्वती गौतमको अध्यक्षतामा बसेको दोश्रो बैठकमा कार्य्बिधी आयो तर त्यसमा छलफल गरी अन्तिम रुप दिने तर्फ कुनै कदम चालिएन । त्यस्तै संयोजक चयन गर्ने भनिएपनि त्यसबारे छलफल नभएको संघिय समाजवादी फोरमका सांसद सहरराम यादवले बताए ।