विराटगरका उपभोक्ताले पाइपलाइनबाटै घर–घरमा वायो ग्यासको प्रयोग गर्न पाउने भएका छन्। पहिलो चरणमा महानगरपालिका–१४ का घर–घरमा बायो ग्यास पुर्याउन पाइप विछाउने काम धमाधम भइरहेको छ।
विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालाको गाईको गोवरबाट ३ सय घनमिटर ग्यास उत्पादनका लागि प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिइसकेको छ। गौशाला परिसरमा डोम स्थापना गर्ने काम सम्पन्न भइसकेको छ। डोममा ग्यास स्टोर गरिन्छ र स्टोेर गरिएको ग्यास पाइलाइनवाट घर-घरमा पुर्याउने गरी तयारी भइरहेको छ।
डेढवर्ष अघि शुरु गरिएको यो प्लान्टबाट पहिलो चरणमा ३५ घरमा र त्यसपछि १ सय घरमा ग्यास पुर्याउने लक्ष्य रहेको उर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले बताए। प्राविधिक काम सम्पन्न भइसकेकाले पाइपलाइन विछ्याउने काममात्र बाँकी रहेको र उक्त काम यसै हप्ता पूूरा हुने बताइएको छ। साविकको जिल्ला विकास समिति, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र गौशालाको सहयोगमा काम शुरु भएको हो। अहिले जिल्ला समन्वय समितिले काम गरिरहेको छ।
प्रधानमन्त्री केपी ओलीले भनेजस्तै पाइपलाइनवाट घरघरमा ग्यास पुर्याउने काम अन्तिम चरणमा पुुगेको सिंहको भनाइ छ। पाइपलाइनवाट ग्यास आउने भएपछि उपभोक्तासमेत उत्साहित छन्। विराटनगर–१४ का उपभोक्ता योगेन्द्र मिश्राले गाईको गोबरबाट उत्पादन हुने ग्यासमा खाना पकाउदा मानव स्वास्थ्यकालागिसमेत उपयुक्त हुने वताए। यो प्रविधि नेपालकै लागि नयाँ भएकाले यसलाई अन्य वडामा विस्तार गर्नुपर्ने मिश्रको भनाइ छ।
स्थानीय शिला दाहालले जुुनसुकै अवस्थामा पनि बायो ग्यास सुरक्षित हुने भएकाले घरमा वायो ग्यास जडान गर्ने तयारी गरिरहेको बताइन्। उनले एलपी ग्यासको मूल्यभन्दा बायो ग्यासको मुल्य केही कम हुनुपर्ने उनको भनाइ थियो। अर्की गृहिणी द्रौपती यादवले पनि पाइपलाइनवाट आउने ग्यास प्रयोग गर्न आफू आतुर रहेको वताइन्। एलपी ग्यासभन्दा वायोग्यासमा पकाएको खाना स्वादिलो हुने भएकाले जति सक्दो चाडो घरघरमा ग्यास आउनुपर्ने उनको भनाइ थियो।
गौशालाका व्यवस्थापक मोहितचन्द्र यादवका अनुसार, गौशालामा रहेको २ सय ५ वटा गाईबाट दैनिक २ हजार किलो गोबर उत्पादन हुने र साउनको १५ गते सम्ममा प्लान्टवाट ग्यास वितरण शुरु गर्ने उनको भनाइ छ। वायो ग्यास सुरक्षित हुने भएकाले यसको माग रहेको यादवको भनाइ छ।
८४ लाख रुपैयाँ बजेटमा सञ्चालनमा ल्याउन लागेको यो प्रविधि सफल भएपछि अन्य स्थानमा समेत पाइपलाइनवाटै ग्यास वितरण गरिने जनाएको छ। प्लान्टको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने तयारी भइरहेको वातावरण उर्जा अधिकृत सिंहले बताए।