नेपाली हेलिकोप्टर कम्पनीहरुले पर्यटको उद्दार गर्ने नाममा ठगी गरेर विश्वव्यापी बदनामी कमाएको भन्दै सरकारले कडाइ गरे पनि पोखराबाट भने खुलेयाम ‘फेक ‘रेस्क्यु’ भइरहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रकोे संरक्षण गर्ने भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालआधार शिविरमा व्यवसायीक उडान गर्न प्रतिबन्ध लगाएको छ । पछिल्लो गाउँ परिषद बैठकले नै बिरामीको उद्दार गर्ने बाहेका अन्य उडानमाथि प्रतिबन्ध लगाएको हो ।
गाउँपालिकाले व्यवसायीक उडानमा प्रतिबन्ध लगाएपछि हेलिकोप्टर कम्पनीहरुले ‘रेस्क्यु’ भन्दै शुक्रबारबाट व्यवसायीक उडान थालेका छन् । उनीहरुको व्यवसायीक उडानमा पोखरा विमानस्थल प्रशासनले पनि सहयोग गरेको छ ।
उद्दारका लागि जाने हेलिकप्टरले चिकित्सक र औषधी लिएर जानुपर्छ । तर पोखरा विमानस्थलबाट ‘रेस्क्यु’का नाममा उड्ने हेलिकोप्टरले पूर्ण क्षमतामा यात्रु लिएर उडिरहेका छन् । फर्किंदा पनि तिनै सद्दे पर्यटकलाई नै लिएरआउँछन् ।
‘रेस्क्यु’का नाममा व्यवसायीक उडान भइरहेको भए पनि आफूले उडान रोक्न नसक्ने विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाईंले बताए । ‘अन्नपूर्ण गाउँ पालिकाले प्रतिबन्ध लगाएको आधिकारिक जानकारी हामीलाई प्राप्त भएको छैन,’ बरालले भने ।
गाउँपालिकाको निर्णयलाई अवज्ञा गरेर जवर्जस्ती व्यवसायीक उडान गरिएपछि अन्नपूर्ण गाउ पालिकाका अध्यक्ष युवराज कुँवर रुष्ट छन् । ‘हाम्रो गाउँ पालिकाका जनताको मुख्य व्यवसाय भनेकै पर्यटन हो, त्यही व्यवसायलाई चौपट पार्ने गतिविधि कुनै पनि हालतमा हुन दिइन्नँ,’ कुँवरले भने,‘जबर्जस्ती गर्न खोजे कडा प्रतिवाद गरिन्छ । गाउँ परिषदले गरेको निर्णय हाम्रो गाउँमा आउनेले पालना गर्नैैपर्छ ।’
गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारी पनि हेलिकोप्टर कम्पनिकोे दादागिरीप्रति रुष्ट छन् । ‘सिमित व्यक्तिको फाइदाका लागि हजारौं पर्यटन व्यवसायी र गाउँका जनताको रोजी रोटी खोस्न पाइन्नँ,’ पहारीले भने,‘एबिसी विश्व चर्चित पदयात्रा मार्ग हो, यसैलाई यही रुपमा संरक्षण गर्नुपर्छ र गरिन्छ ।’
रेस्क्युका नाममा गलत काम गर्नेलाई राज्यले कारवाही गर्नुपर्ने पहारीले बताए । ‘राज्यले नगरे जनता उत्रिन्छन, त्यो क्षेत्रका व्यवसायीले कारवाही गर्छन, त्यसमा मेरो पनि साथ रहन्छ,’प्रदेश सभा सदस्य पहारीले भने ।
अन्नपूर्ण आधार शिविरमा सिधै हेलिकोप्टर अवतरण हुँदा पदयात्रा व्यवसाय धराशायी भएको भन्दै उक्त क्षेका पर्यटन व्यवसायीले दुखेसो पोख्दै आएका छन् । ‘आधार शिविर पुग्नलागि १ साता भन्दा लामो समय र लाखौं रुपैयाँ खर्च गर्ने गरी पर्यटकहरु नेपाल आउँछन् ।’ ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले भने, ‘तिनै पर्यटकलाई १÷१ सय डलर लिएर आधा घन्टामै एबिसी पुर्याएर ल्याएपछि हाम्रो पर्यटन व्यवसाय कहाँ जान्छ ?’
अन्नपूर्ण गाउँपालिकाले भन्दा अघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले पनि प्रतिबन्धित इलाकामा हेलिकोप्टर अवैध उडान गरेको भन्दै विज्ञप्ति जारी गरेको थियो । संरक्षित क्षेत्रमा प्रवेश गर्दा प्रत्येक पर्यटकले प्रवेश अनुमति र शुल्क तिर्नु पर्छ । हेलिकोप्टरबाट जानेले त्यो शुल्क समेत तिर्दैनन् ।
अन्नपूर्ण आधार शिविरमा दैनिक दर्जनौ उडान हुँदा त्यो क्षेत्रको पर्यावरणसमेत खतरामा परेको गाउँपालिका अध्यक्ष युवराज कुँवरको भनाइ थियो । हेलिकोप्टरकै आवाजका कारण वन्य जन्तु र चराचुरुंगी समेत देख्न छाडिएको भन्दै हिमपहिरो जाने खतरा समेत बढेको उनले बताएका छन् ।
हेलिकोप्टरले बर्सेनि १५ हजारको हाराहारीमा पर्यटक एबिसी पु¥याएर फर्काउँदा पदयात्री पर्यटकको संख्या घटेको गाउँपालिका अध्यक्षको दाबी छ । उनले पदयात्रामा जाने पर्यटक बिरामी भए वा दुर्घटनामा परे भने उनीहरुको उद्दार गर्न जाने हेलिकोप्टरलाई भने सहयोग नै पुर्याउने बताएका छन् ।