दाङको नमुना गाउँपालिका बनाउने गरी बबई गाउँपालिकाका जनप्रतिनिधि खटिएका छन्।
दैनिक जनताको सेवा गरीरहेका उनीहरुले गाउँपालिकाको समग्र बिकासका लागि बृहत गुरु योजना निर्माणमा जुटेका हुन्। गाउँपालिकाको समग्र बस्तुस्थितिका बारेमा बृहत गुरुयोजना निर्माणको तयारी गरीरहेको गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिए। गाउँपालिकाको बिकासका लागि योजनाबद्ध कार्यका लागि गुरुयोजना निर्माण गर्न लागेको अध्यक्ष पौडेलले बताए।
त्यसका लागि गाउँपालिकाका जनप्रतिनीधिहरु भेला भएर छलफल समेत गरेका छन्। उनीहरुले चार बर्षमा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी गुरुयोजना निर्माण संकल्पसहित जुटेका छन्। जनताले जनप्रतिनीधिबाट धेरै अपेक्षा गरेको भन्दै गुरुयोजना निर्माण गरी काम गर्ने बताइएको छ।
बबई गाउँपालिका-१ का वडाध्यक्ष खड्गबहादुर कवरले समग्र गाउँपालिका र वडाको बिकासका लागि दिनरात खटीरहेको भन्दै आफूहरुले अबको चार बर्षमा नमुना गाउँपालिका बनाउने संकल्पसहित खटिएको बताए।
यस्तै वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर डाँगीले सबै जनताले हालसम्म साथ दिएको भन्दै सबैको सहयोगले नमूना काम गर्ने बताए।
वडा नम्बर २ का वडाध्यक्ष चिन्तामणी शर्माले स्थानीय, प्रदेश र संघीय सरकारले जनता लक्षित कार्यक्रम ल्याएमा काम गर्न सहज हुने विश्वास व्यक्त गरे।