प्रदेश नम्वर १ को सुनसरीको बराहक्षेत्र नगरपालिकाले मानव बेचबिखन र ओसारपसारविरुद्धको अभियान प्रारम्भ गरेको छ । स्थानीय कालबंजारमा प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोखरेलले र नगरपालिकाका मेयर निलम खनालले अभियानको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा मेयर खनालले अभियानको शुरुवातसँगै आउँदो दिनमा मानव बेचबिखन र ओसारपसार अन्त्य गर्न सबै सरोकारवाला निकायसँगको समन्वय गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।
मेयर खनालले मानव बेचबिखन र ओसारपसारविरुद्धको गतिविधिका लागि बजेट बिनियोजन गरिएको जानकारी समेत दिनुभयो । सो अवसरमा उपसभामुख पोखरेलले बेचबिखन विरुद्ध कानूनी व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै त्यसका लागि सबै पक्षमा एकजुट हुनुपर्ने बताए ।
उनले अभियानको सफलताको कामना गर्दै बेचबिखन अन्त्य रोकथाम गर्न नगरपालिकासहितका सरोकारवाला निकाय सक्षम हुने विश्वास व्यक्त गरे ।
मानव बेचबिखनविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालको सहयोग र साझा सवालका लागि साझा मञ्च(कोकन) को समन्वयमा बराह क्षेत्र नगरपालिकाको अगुवाइमा अभियान शुरु भएको हो । समारोहमा प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रवन्धक कलावती चाङवाङले अभियानको निरन्तरताका लागि सहयोग गर्न सबैमा अपिल गरिन् ।
मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय दुई जना अभियानकर्ता सविना खड्का र सरिता सुवेदीले मेयर खनाललाई ध्यानाकर्षण पत्र प्रदान गरेका थिए । साथै बेचबिखनविरुद्धको अभियानमा विभिन्न देशबाट ४६ हजार १३ जनाले ऐक्यवद्धता जनाएको जानकारी समेत गराइएको थियो ।