सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना साकार पार्नका लागि पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
उत्तरी मकवानपुरको थाहानगरस्थित टिस्टुङ महोत्सवलाई सम्बोधन गर्दै उनले पर्यटनको विकासमा सबै स्थानीय तहहरु जुट्नुपर्नेमा जोड दिए । उनले स्वदेशी तथा विदेशी नागरिकलाई गाउँ भित्र्याउने वातावरण बनाउने गरी योजना निर्माण गरेर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सांसद रामनारायण विडारीले महोत्सवहरु गाउँ गाउँमा आयोजना हुन थालेकाले स्रोत र साधनहरु पनि तल्लो तहमा आउन थालेको बताए । प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले ऐतिहाँसिक स्थलमा आयोजना भएको महोत्सवले इतिहाँस कायम राख्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, थाहा नगरका मेयर लबशेर बिष्ट, ३ नं प्रदेश पर्यटन व्यवसायी संघका अध्यक्ष अनन्त पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
५ दिनसम्म चल्ने महोत्सव २१ लाख ५० हजार रुपियाँ खर्च हुने तथा ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई स्थानीय उत्पादन र ऐतिहासिक प्रदर्शनीको रुपमा विकसित गरिएको आयोजक समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।