देशभर बलात्कारका घटना घटिरहेका बेला रुपन्देहीको बुटवलमा डरलाग्दो सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ। प्रदेश ५ को राजधानी बुटवलमा जवरजस्तीकरणीको अभियोगमा दुई जना पक्राउ परेपछि घटना बाहिर आएको हो।
गत मंगलबार शिवनगर सामुदायिक जंगलमा १६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–१० चरंगेका ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका–७ शिवनगरका २६ वर्षीय कृष्ण थापा क्षेत्री पक्राउ परेका छन्। घटनामा अन्य दुई जना संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाका मुख्य योजनाकार नै फरार रहेकाले घटनाको सबै विवरण सार्वजनिक नभएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटना डरलाग्दो भएको भन्दै यसको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए।
मजदुरी गर्ने उनीहरुले ललाई फकाइ घुमाउन लगेको र जंगलमा जवरजस्ती करणी गरेको पीडित युवतीले वडा प्रहरी कार्यालय बुटवलमा उजुरी गरेपछि घटना बाहिर आएको थियो।
युवतीले दिएको उजुरीका आधारमा प्रहरीको थप अनुसन्धानबाट घटनास्थलमा प्रयोग भएका ४ वटा कण्डम र त्यसको खोल तथा फुटेका चुरा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए।
घटनाको प्रारम्भिक अध्ययनबाट सामूहिक बलात्कार भएको हुनसक्ने देखिएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बताए।
पीडित बालिका भने अहिले उपचारपछि घरमै आराम गरिरहेको प्रहरीले जनाएको छ। यस्तो घटना सार्वजनिक भएपछि दोषिलाई कडा कारवाही हुनु पर्ने महिला अधिकारवादीहरुले आवाज उठाएका छन्।