विराटनगर महानगरपालिका–१ का सुुकुम्वासीहरुले बसोबासका उचित व्यवस्थापन गर्न माग गरेका छन्। वडाले सडक विस्तार गर्ने भन्दै भटाचौकवाट परोपकार मन्दिर जानेबाटोमा बस्दै आएका सुकुम्बासीका ९ वटा घरटहरा हटाउन निर्देशन दिएपछि उचित व्यवस्थापन गरेर मात्र टहरा हटाउन उनीहरुले माग गरेका हुुन्।
३५ वर्षदेखि बस्दै आएका सुकुम्बासीका घर टहरा खाली गर्न वडा कार्यालयले साउन १ गते तीन दिनको अल्टिमेटम दिएको थियो। सडक विस्तार एवं कालोपत्रेका लागि सुकुम्वासीको घर टहरा हटाउन लागिएको कार्यालयले जनाएको छ।
मोरङ क्षेत्र नम्बर ६ का सांसद अमनलाल मोदी, महानगरपालिकाका मेयर भीम पराजुली तथा एक नम्वर वडाका अध्यक्ष उद्धव अर्यालसमक्ष आफ्नो पीडा पटक–पटक पोख्दासमेत बेवास्ता गरेको स्थानीय ललितवहादुर खडकाले बताए। उठिबास लगाउन खोज्दा पनि भोट दिएर जिताएका जनप्रतिनिधिहरुले आफ्ना पीडा नसुनेको उनको भनाइ छ।
यसैगरी, हसिना खातुनले बनिबुतो गरेर जीविका चलाउँदै आएकाले आफुहरुसँग अन्यत्र घरघडेरी किन्न सक्ने सामथ्र्य नरहेको बताइन्। उनले तीन दशकदेखि खोला किनारमा वस्दै आएका सुकुम्वासीलाई घर भत्काउन सूचना जारी गरेपछि रातभर निद्रा नलाग्ने गरेको बताइन्।
आर्थिक अवस्थाका कारण खोलामा आएर बस्दा पनि उठिवास गराउन खोजेको सुकुम्वासीको गुनासो छ। उनीहरुले आफूहरु विकासविरोधी नभएको भन्दै उचित व्यवस्थापन नगरिकन हटाउन खोजिए आफूहरु आन्दोलनमा जानेसमेत जनाएका छन्। वडा कार्यालयवाट परिपत्र आएपछि भू–माफियाले समेत थर्काउन थालेको खडकाको भनाइ छ।