मकवानपुरको मनहरी गाउँपालिकामा तरकारी र फलफुल खेतीको प्रबद्र्धनका लागि पाँच बर्षे कार्यक्रम सञ्चालन हुने भएको छ ।
सहकारी तथा गरिवी निवारण मन्त्रालयमार्फत युएसएआइडीले राष्ट्रिय सहकारी संघमार्फत तरकारी र फलफुल उत्पादन, प्रशोधन, संकलन र बजारिकरणका लागि परियोजना संचालन गर्न लागेको हो ।
मन्त्रालय र गाउँपालिकाबीच पाँचबर्षे कार्यक्रम सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । उनका अनुसार पाँच बर्षको अबधिमा मनहरी गाउँपालिकाभित्र १ अर्ब २६ करोड रुपियाँ तरकारी तथा फलफुल खेती, प्रशोधन तथा बजारीकरणका लागि खर्च हुनेछ ।
गाउँपालिकाले वडा नं ३ को भुन्द्रुङ, पाल्दमार, वडा नं ६ को रुपाचुरी, वडा नं ९ को देवकोट, रजैया र ज्यामिरेमा यो कार्यक्रम लागू गर्नेगरी योजना निर्माण गरेको छ । बेमौसमी तरकारी र फलफुल उत्पादन हुने क्षेत्रलाई बढी लक्षित गरी कार्यक्रम सञ्चालन हुने अध्यक्ष उप्रेतीले बताए ।
सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनहरु बिचौलिया बिना नै बजारमा लैजाने संयन्त्र यसै कार्यक्रममार्फत निर्माण गरिने बताइएको छ । अहिले बिचौलियाका कारण सक्कली किसानहरुले तरकारी र फलफुलको मूल्य उचित पाएका छ्र्रैनन् भने उपभोक्ताले समेत महँगो मूल्य तिर्न बाध्य हुँदै आएका छन् ।