लेक लागेर हिमाली जिल्ला मनाङमा एक पर्यटकको मृत्यु भएको छ ।
चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तिलिचो तालको अवलोकनपछि फर्किने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका–३३ का वर्ष ३५ का सरोज अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी इनिस्पेक्टर विनोद श्रेष्ठले बताए ।
घर फर्कने क्रममा मनाङको ङिस्याङ गाउँपालिका–९ श्रीखर्कमा अचेत अवस्थामा पुगेका अधिकारीको उपचारका लागि हेलिचार्टर गरिएको थियो ।
अधिकारीलाई उद्धार गरी उपचारका लागि आज बिहान हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको र उपचारकै क्रममा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । गण्डकी अस्पताल पोखरामा परीक्षणका लागि अधिकारीको शव लगिएको छ ।
पोखराबाट अधिकारी कात्तिक ४ गते बिहान ७ जना साथीका साथमा मनाङको यात्रामा निस्कीएका थिए ।