सप्तरीको कञ्चनरुप नगरपालिकामा शंकास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिए।
कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजनले जनाएका छन्। मृतक दुबै बालकलाई ज्वरो आउने, वान्ता हुने र टाउको दुख्ने भएपछि मृत्यु भएको पासवानले बताए।
यता, थप घटना हुन नदिन कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र, प्रशासकिय अधिकृत सविनराज ढकालले प्रदेश नं २ का सामाजिक विकास मन्त्रालय, महामारी तथा सरुवारोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजलाई मृत्युबारे आवश्यक अनुसन्धान गरी थप घटना हुन नदिन व्यवस्था मिलाउन सहयोगका लागि अनुरोध गरेका छन्।
दुई महीना अगाडि सो क्षेत्रमा भाइरल ज्वरोका कारण नगरवासी त्रसित भएका थिए। भाइरल ज्वरोकै कारण चार जनाको मृत्यु भएको थियो।