देख्दै आङ जिरिङ्ग हुने चट्टानी भीर। चरोसमेत बस्न नसक्ने कहालीलाग्दो पहरा। त्यसैमा तुर्लुंङ डोरी झुन्ड्याएर लहरिनु,सामान्य मुटु भएका मान्छेका लागि कल्पना बाहिरको बिषय हुन सक्छ। सत्य के हो भने मह काढ्दा थोरैमात्र गल्ती हुँदा ज्यानै जान सक्छ। भीरमौरीको महत्वबारे स्थानीय सरकार अनभिज्ञ हुँदा संरक्षणसम्बन्धी कुनै योजना बनाउँन पनि सकेको छैन।
लमजुङमा भने, मह शिकारीले बर्षेनी स्थान पाउँदै आएका छन्। लमजुङका अधिकांश भीर पहरामा भीर मौरी पाइन्छ। जाँगरिला शिकारीले बर्षेनी मह शिकार गर्छन्। यसलाई गुरुङ समुदायको पुर्खाेली परम्परा पनि मानिन्छ। भीर मह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ। महवाट राम्रै आम्दानी भएपनि भीर माहुरी संरक्षणमा सम्बधित निकायले चासो नदिएको मस्र्याङ्दी गाउँपालिका–६ नाइचेका महशिकारी आशलाल गुरुङले बताए।
कसरी गरिन्छ शिकार ?
भीर मौरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाउँछ। कहींकतैवाट ठेस नपुग्ने गरी बनाएका घारमा शिकार गर्नेले चोयाबाट बनाइएको डोरीको साथ लिनुपर्छ। दुईवटा डोरी बाँधेर ठेल्ना राखी भ¥याङ जस्तो बनाएर डोरीलाई भीरको सिरानमा रहेको रुखमा बाँधी त्यसमा झुण्डेर शिकारीले मह काढ्ने गर्छन्। सिमि भूमी बनदेवीको पुजा गरेर मात्र भीर मह काढ्दा सुरक्षित हुने र माहुरीले पनि केही नगर्ने जनविश्वास रहेको मस्र्याङ्दी गापा–४ मिप्राका डिलबहादुर गुरुङले बताए।
कहाँ पाइन्छ ?
झण्डै १५ सयदेखि २५ सय मिटरको उचाईका पहरामा भीरमौरीले घार बनाउँछ। लमजुङका गुरुङ बस्ती भएका प्रायः ठाउँमा भीर मौरी छन्। भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, पसगाउँ, दुधपोखरी, बन्सार, नाईचे लगायतका भीर पहरामा भीर माहुरी प्रशस्तै मात्रामा पाइन्छ। ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने विज्ञहरु बताउँछन्।
कसरी लोप हुदैछ?
विभिन्न उत्सव तथा महोत्सवको नाउँमा रहरले भीर मह काटिँदा र स्थानीयले गोलाहरुमा जिस्काउँदा पनि भीरमौरी मासिँदैछन्। जलविद्युत आयोजना बानाउँदा विभिन्न किसिमको बम विस्फोट गर्नु, भीर मौरीका बासास्थानमा जलविद्युत आयोजनाको लागि सडक विस्तार गरिनुले मौरीलाई असर परेको छ। साथै कोलाहल र मानववस्ती नरुचाउने भीर मौरी अहिले मानवीय क्रियाकलापसँगै लोप हुन थालेका छन्। विशेषगरी कात्तिक, मंसिर र जेठ महिनामा भीर मौरीको मह काढ्न उपयुक्त मानिने मस्र्याङ्दी गाउँपालिका – ६ नाइचेका स्थानीय मह शिकारी गंगा बहादुर गुरुङले जानकारी दिए।
भीर मौरी र महले प्रख्यात लमजुङमा पछिल्लो समयमा विदेशी पर्यटकले भीर मौरी शिकार गर्नका लागि एक घार बराबर करिब ७० हजार रुपैयाँमा बुकिङ गरी मह काट्ने प्रचलन निकै बढेका छन्। विदेशी पर्यटकले डकुमेन्ट्रीको नाममा यसरी मह शिकार गर्दा भीर मौरी लोप हुने खतरा झनै बढेको छ। विना तयारी मह काढ्ने प्रचलन बढेसँगै मौरी मासिने खतरा पनि उत्तिकै बढेको नेपाल माहुरी पालक महासंघ जिल्ला शाखा लमजुङका सचिव बेन बहादुर गुरुङले बताए। उनले भने “भिर मह काट्दा आगोको मुस्लो र धुवाँको प्रयोग नगरी आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ।”
संरक्षणको खाँचो
भीर मौरीबाट लाखौँ रुपैँया आम्दानी गर्न सकिए पनि यस सम्बन्धी सरकारले योजना र कार्यान्वयनका लागि नीति नियम बनाउन नसक्दा भीरमह भीरमा नै थन्कनु त छँदैछ, यसबाट फाईदा समेत लिन सकिएको छैन। स्थानीय सरकारले अब छिटै भीर मौरी संरक्षणका लागि कार्यक्रम योजना बनाई संरक्षण गर्ने मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। उनले भने “जथाभावी भीर मौरी शिकार रोक्न गाउँपालिका विशेष नीति नियम बनाउँछु।