जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको राजनीतिक बिषयको बैठकमा पहिलोपटक मकवानपुरका राजनीतिक दलले ‘स्पेस’ पाएका छन् ।
स्थानीय सरकार संचालन गर्दा बैधानिक रुपमा राजनीतिक हैसियतको कल्पना नगरिएपनि जिल्ला समन्वय समिति मकवानपुरले दलीय आधारमा प्रतिनिधि बोलाएर नयाँ संस्कारको सुरु गरेको हो ।
समितिले सोमबार हेटौँडामा आयोजित समितिको बार्षिक समिक्षा, आगामी दिनमा समन्वय समितिलाई आवश्यक पर्ने नीतिगत सुधारका लागि सुझाव आदानप्रदान तथा ३ नं प्रदेशको राजधानीका सन्दर्भमा आयोजना भएको कार्यक्रममा दलीय प्रतिनिधित्व गराइएको हो ।
स्थानीय तहको निर्बाचन भइसकेपछि समितिले राजनीतिक बिषयमा राजनीतिक दलहरुलाई बोलाएर सल्लाह सुझाव मागेको मकवानपुरमा यो नै पहिलो हो । यसअघि जिल्ला विकास समिति हुँदा राजनीतिक दलका प्रतिनिधिहरु राखेर कर्मचारीहरुले विभिन्न राजनीतिक तथा विकास निर्माणका सन्दर्भमा निर्णयहरु गर्नेगरेको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालका संघीय सांसदहरु बिरोध खतिवडा र कृष्ण दाहाल, राष्ट्रिय सभा सांसद रामचन्द्र राई तथा प्रदेश सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, ओमबहादुर घलान तथा सन्तबहादुर चेपाङ लगायत सहभागी थिए । त्यसैगरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ वटा राजनीतिक दलका प्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए ।
‘राजनीतिक बिषयहरु भएकाले राजनीतिक दलहरुलाई सहभागी गराइएको हो’, समन्वय समितिका प्रमुख खुलालले भने–‘राजनीतिक प्रतिस्पर्धाबाट आएका हामीले राजनीतिक संस्कार पनि राख्नुपर्छ भन्ने सोच्यौँ ।’
यसअघि भएका हरेक लोकतान्त्रिक आन्दोलनमा राजनीतिक दलहरु समान रुपमा सहभागी भएको स्मरण गर्दै प्रमुख खुलालले राजनीतिक बिषय उठान गर्दा राजनीतिक दलहरुको प्रतिनिधित्व आवश्यक पर्ने सुनाए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीको सहभागिता रहेको थियो ।