कैलालीका स्थानीय तहहरूले राजमार्ग प्रयोग गरेको मात्रै दोहोरो निकासी कर असुल्ने गरेका छन्। एक स्थानीय तहबाट नदीजन्य वस्तु ढुङ्गा, गिट्टी वालुवा संकलन गरेर पैठारी गर्दा एकभन्दा बढी स्थानमा निकासी कर असुल्न थाले पछि व्यवसायीहरू मारमा परेका छन्।
गोदावरी नगरपालिकालाई नदीजन्य वस्तुको रोयल्टी तिरेर पुर्नवास पैठारी गर्दा धनगढी उपमहानगरपालिकाले समेत निकासी शुल्क भन्दै कर असुल्न थालेको हो। गरूड कन्सट्रक्सनले अर्को स्थानीय तहबाट धनगढी उपमहानगरपालिका भएर बाहिरिने नदीजन्य वस्तुको निकासी मूल्य भन्दै धमाधम रकम संकलन गरिरहेको छ।
गोदावरी नगरपालिकाको खुटिया, गोदावरी र खैराना नदीबाट वालुवा गिट्टी लगायतका वस्तु पुर्नवास पैठारी गर्दा धनगढी उपमहानगरपालिले पनि निकासी शुल्क भन्दै रकम असुल्ने गरेको पुर्नवासका ट्रयाक्टर व्यवासायी मान बहादुर थापाले बताए। त्यस्तै अन्य व्यवसायीहरूले आफुहरूले चार देखी पाचँ ठाउँमा कर तिर्नु परेको गुनासो गरे।
ठेकेदारले बाटोमा सताउन थालेपछि व्यवसायीहरूले आफूले संकलन शुल्क र दोहोरो निकासी शुल्क तिरेको बिल सहित समस्या समाधान गर्न माग गर्दै मुख्यमन्त्रीलाई आइतबार ज्ञापनपत्र बुझएका थिए भने प्रदेश सरकारले कुनै सुनुवाई नगरे पछि मंगलबार धनगढी उप महानगर पालिका संग वार्ता गरेका छन्।
यता, धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भने स्थानीय तहले लगाउन पाउने कर सम्बन्धी ऐन प्रयोग गरेर कर असुलि गरेको बताए। उनले थपे कुनै पनि स्थानीय तहबाट नदीजन्य वस्तु ढुङ्गा, गिट्टी वालुवा अन्यत्र जिल्ला जादा विगतमा पनि कर लाग्थ्यो र लाग्दै आएको छ।
कानुनी प्रक्रिया थाहा नभएको हुँदा तीनवटै स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारी बसेर समस्या समाधान गर्ने मेयर वडले जानकारी दिए।संविधानको अन्तर प्रदेश व्यापार सम्बन्धि धारा २ सय ३६ मा व्यवस्था भएअनुसार पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कुनै वस्तु निकासी पैठारी हुँदा शुल्क लिन नपाउने उल्लेख गरिएको छ।