विराटनगर,१७ कात्तिक ।प्रदेश न १ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो मातहतका निर्देशनालय र सेवा केन्द्र लगायत सम्पुर्ण कार्यालयहरुलाइ बजेट तथा कार्यक्रमको अख्तियारी दिएको छ ।
मन्त्रालयले आज विराटनगरमा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै अख्तियारी हस्तान्तरण गरेको हो ।आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा मन्त्रालयले आफू मातहतका सम्पूर्ण निकायहरुलाइ बजेट तथा कार्यक्रमहरु संचालन गर्ने अख्तियारी हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सरकारले निर्वाहमुखि कृषिलाइ व्यवसायीक र आधुनिक बनाइ आत्म निर्भरत बढाउने कुरालाइ प्राथमिकतामा राखेको बताए ।
प्रदेश सरकारले आगामी पाचवर्ष भित्र कृषिलाई आधुनिकिकरण गरेर गोरु जोत्ने अवस्थाको अन्त्य गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशका प्रमुख सचिव केदार न्यौपाने नयाँ संरचना भएकाले काम गर्न केहि कठिनाइ भएपनि आफ्नो अधिकार र कार्य क्षेत्र बुझेर प्रभावकारी काम गर्न मन्त्रालयका सचिव र अन्य कार्यालयका प्रमुखहरुलाइ निर्देशन दिए ।
कृषकसंग नजिक भएर काम गर्न आग्रह गर्दै उनले नयाँ संरचनामा काम गर्न केहि कठिनाइ छ भन्दैमा काममा ढिलासुस्ती गर्नेलाइ छुट नहुने बताए ।
मन्त्रालयले विराटनगरमा कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, विभिन्न जिल्लामा ११ वटा ज्ञान केन्द्र, ३ वटा कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्र, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र र विभिन्न स्थानमा ८ वटा फार्म केन्द्रहरु स्थापना गरिसकेको छ । सोहि कार्यालयहरुलाइ आज मन्त्रालयले बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण गरेको हो ।