भोजपुरमा लुकाइ राखेको साढे ६ केजी गाँजासहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। भोजपुर नगरपालिका–१० धाराटारकी ६४ वर्षीया कोमलशोभा राईलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।
राइले गाँजा उत्पादन तथा विक्री वितरण गरिरहेको विषेश सूचनाको आधारमा प्रहरीले उनको घरमा लुकाइराखेको गाँजा सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक केशव कुमार थेवेले बताए। राईले घरमा बोराभित्र लुकाएर गाँजा विक्री गर्ने गरेको प्रहरी नायव उपरीक्षक थेवले बताए।
रार्इले गाँजा विक्री गरिरहेको भन्ने आधारमा एक सातादेखि अनुसन्धान गरेर गाँजा वरामद गर्न सफल भएको प्रहरीले जनाएको छ। यस्तै, प्रहरीले राईको १४ रोपनी क्षेत्रफलमा मकैवारीभित्र रहेको एक सय २ वोट र उनका छिमेकी दिलकुमार राईको १३ रोपनी क्षेत्रको मकैवारीमा नै लगाएको ८४ वोट गाँजा समेत नष्ट गरेको छ।
राईले अनुसन्धानमा गएका प्रहरीलाई समेत ४ सय रुपैंयाको गाँजा बिक्रि गरेकी थिइन्। राईलाई कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि वढाएको जनाइएको छ। प्रहरीले गाँजा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको पाँचधारे, घोडेटार, हसनपुर लगायत ठाँउमा सयौं रोपानी क्षेत्रमा लगाएको गाँजा नष्ट गरिसकेको जनाएको छ।