दाङमा भैलो खेल्न जाँदै गरेका व्यक्तिहरु चढेको जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका –७, राजापुरमा लु १ च ७५१६ नम्बरको जीप दुर्घटना हुँदा भैलो खेल्न जाँदै गरेका २० जना घाइते भएका हुन्।
तुलसीपुर बजारबाट आदर्श युथ क्लबको टोली पर्सेनीमा भैलो खेल्न आउँदै गरेको त्यो जीप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्।
केही घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने केहीको घोराही र नेपालगञ्ज रिफर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जनाएको छ। दुर्घटना पछि जीप चालक फरार भएका छन्। घाइतेमध्ये अहिलेसम्म तीन जनाको मात्रै परिचय खुलेको छ।
तुलसीपुर उपमहानगरपालिका –७, झुमारेकी १८ वर्षीया कामना भुसालको टाउकोमा चोट लागेको र त्यसै ठाउँका २४ वर्षीय सुदन चौधरीलाई तुलसीपुरमा प्रारम्भिक उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
यसैगरी सरस्वती भट्टराईको प्रारम्भीक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको ट्राफिक प्रहरी कार्यालय सञ्चार शाखाका प्रहरी हवल्दार डिमबहादुर थापाले जानकारी दिनुभएको छ।