उत्तरी पर्वतको जलजला गाउँपालिकामा खनिएका सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ।
प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटबाट विभिन्न सडक कालोपत्रे र स्तरोन्नति गरिने भएका छन्। मालढुङ्गा–बेनी सडकबाहेक अन्य सडक कालोपत्रे हुन सकेका छैनन्। जलजला गाउँपालिकामा मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गर्न थालिएको छ। जलजला गाउँपालिका–७ मिलनचोकदेखि वडा नं ६ शालिजाको ठोट्नेरीसम्मको सडक कालोपत्रे हुँदैछ।
मिलनचोक, सल्यान, घायखेत, धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा, लेकफाँट, रातमाटा हुँदै माझफाँटदेखि बेनीसम्म रिङरोड बनाउने अवधारणासहित गण्डकी प्रदेशले यस सडकलाई नमूना बनाउन लागेको हो। नमूना सडक निर्माणका लागि प्रदेश सरकारले चालु आवमा दुई करोड १० लाख विनियोजन गरेको छ। एघार वर्षअघि खनिएको ग्रामीण सडकलाई नमूना बनाउनका लागि प्रतिनिधिसभाका सांसद पदम गिरी र गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीको पहलमा चालु आवमा उक्त बजेट विनियोजन गरिएको हो।
नमूना सडक निर्माणका लागि मिलनचोकदेखि १५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाइँदै छ। डिपिआर निर्माण गर्न सडकको सर्वे गर्ने काम थालिएको मिलनचोक–सल्यान धारापानी–ठोट्नेरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक आचार्यले बताउनुुभयो। सडक निर्माणपछि धाइरिङको कृषि उपजलाई बजारसम्म पु-याउन सहयोग पुग्नेछ। पर्यटकीयस्थल जलजलाका साथै भुमेथानको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए।