गाडीको सिट तथा हुटको भित्री भागमा नदेखिने गरी बनाइएका फल्स बटममा लुकाएर लैजाने खोज्ने ६ जनालाई मकवानपुर प्रहरीले गाँजासहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मकवानपुरको मनहरी गाउँपालिका– ९ खरङ्बाट भारतीय नम्बर प्लेटको गाडीमा राखिएको गाँजा र मानिसहरु पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका १ पिपलभन्ज्याका ५८ बर्षीय पदम हमाल ठकुरी, सिरहाको धनगढी नगरपालिका– ३ का ३५ बर्षीय सुरेशकुमार महतो, सिरहाको औराही गाउँपालिका– २ का ४४ बर्षीय छेदी दास र मकवानपुरको राक्सिराङ् गाउँपालिका– १ का ४२ बर्षीय कृष्णबहादुर मुक्तान छन् । भारतीय नम्बर प्लेटको बीआर आइपी २३४५ नंको बोलेरो जीपमा फल्स बटम बनाई गाँजा निकासी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ८८.७५० किलोग्राम गाँजा बरामद भएको जिप्रका मकवानपुरले जनाएको छ । पक्राउ परेका हमाल चारबर्षदेखि मकवानपुरमा गाँजा ओसारपसारमा संलग्न मुख्य ब्यक्तिको रहेको अनुसन्धानबाट खुलेको जिप्रकाका प्रबक्ता मधुकुमार थापाले बताए । चालक छेदी पनि लागूऔषध ओसारपसारमा संलग्न पटके भएको प्रहरीको भनाई छ । राक्सिराङ्का मोक्तान भने जिल्लामा लागूऔषध संकलक भएको अनुसन्धानबाट खुलेको छ ।
यसैबीच, प्रहरीले बिहीबार ना ३ च ४७६२ नं को सेतो बोलेरो पिकअप भ्यानबाट ११५ किलोग्राम गाँजासहित दुईजना पक्राउ गरेको छ । हेटौँडा उपमहानगर– ११ सरस्वती चोकबाट पक्राउ परेकामा सिन्धुलीको कमलामाई नगरपालिका– १२ का ३६ बर्षीय दिनेश मगर र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ का ३१ बर्षीय ज्ञानबहादुर बुढासैली छन् । गाडीमा फल्स बटम बनाई गाँजा लुकाएर महोत्तरीतर्फ लैजाने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जिप्रका मकवानपुरले जनाएको छ ।