नेपाल हस्तकला महासङ्घले लोपोन्मुख कलाकृतिहरुको जगेर्ना गर्ने उद्देश्यले यही कात्तिक २८ देखि मङ्सिर २ गतेसम्म भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता गर्ने भएको छ ।
मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तु राखिनेछ । स्वदेशी व्यवसायीले १५० बिक्री कक्ष तथा भारत, चीन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भूटानका हस्तकला उद्यमीले २० वटा बिक्री कक्षमार्फत आ–आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्नेछन् ।
प्रदर्शनीमा मौलिक कलालाई विकसित प्रविधिको प्रयोग तथा हस्तकलाका विभिन्न आयाम र सिर्जनासम्बन्धी विषयमा अन्तरक्रिया गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गरिनेछ ।
साेमबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रमा संलग्न स्वदेशी तथा विदेशी कालिगडका समस्या र सम्भावनाबारे छलफल तथा उनीहरुलाई पेशाप्रति उत्प्रेरित गरी नयाँ पुस्तालाई हस्तकला क्षेत्रप्रति आकर्षित गर्न मेला आयोजना गर्न लागिएको जानकारी दिए ।