धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको पर्वका रूपमा मनाइने छठ जनकपुरसहित मुलुकभर उल्लासपूर्वक मनाइँदै छ।
अहिंसाप्रति मानवको रूची बढाउने सहानुभूति राख्न अभिप्रेरित गर्ने महत्वपूर्ण पर्वको रूपमा परिचित छठ पर्वको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ। साँझ अस्ताउँदै गरेको सूर्यको उपासना गर्न जनकपुरका पोखरीहरू दुलही झैं सजाइएको छ।
पोखरीका घाटहरूमा सजाएर राखिएका पूजा सामग्रीले छठको शोभालाई थप आकर्षक बनाएको छ। जनकपुरमा एक दर्जनभन्दा बढी पोखरीमा छठ पूजा हुने गरेको छ। यहाँका गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाव, विहार कुण्ड, रत्नसागर, अग्नीकुण्ड लगायतका पोखरीहरू आकर्षणकै केन्द्र बन्ने गरेको छ।
नेपालभर प्रख्यात जनकपुरको छठ हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ। छठ पूजाका लागि आवश्यक पूजाका सामग्रीहरू ब्रतालुहरूले पोखरीको घाटमा पुर्याइसकेका छन्। छठ पूजा तराई मधेसमा बस्ने मैथिली भाषी मधेसी हिन्दू समुदायको मुख्य पर्व हो। तर, पछिल्लो समय छठ पर्व मधेसी तथा पहाडी समुदायको प्रेम र सद्भावको साझा पर्वका रूपमा विकसित हुँदै गएको छ।