परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोट लगायतका ठाउँमा लोप हुँदै गएको छ।
नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महिनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशा फिरी लगाउने कार्य नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको हो। जरायोको सिङबाट बनेको लोकबाजा फिरी बजाएर पेशालाई निरन्तरदा दिँदै आएका योगीनाथ आफ्नो भक्तका घरमा आउन नै छाडेको किस्पाङ गाउँपालिका–२ फिकुरीका वडाध्यक्ष देवनाथ भट्टले बताए।
उनका अनुसार पुख्र्यौली सम्पत्तिजस्तै गरी भक्तका घरलाई योगीका सन्ततिले भाग लगाएर कात्तिक र चैत महिनामा घरघरमा पुगी सह जगाउने परम्परा भए पनि अहिले धेरै स्थानमा योगीले फिरी लगाउन जान छाडिसकेका छन्।
गोरखनाथका भक्तका रुपमा चिनिने योगीले मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने विश्वास छ। अहिलेका पुस्ता योगी बन्न कान छेडेर कानफटा लगाउन रुचि नदिनु र मन्त्रपाठ ध्यान गर्न नचाहनुले मौलिक संस्कृति हराउँदै गएको लिखु गाउँपालिका–१ का ६९ वर्षीय दुर्गानाथ योगीले बताए।
‘परम्परालाई निरन्तरता दिन गाह्रो भइसक्यो’उनले भने ‘घर धेरै छन्, पूरा मन्त्र पढ्न र दान थाप्न नै भ्याइन्न, सन्तानले पनि सहयोग गर्दैनन्।’ अघिल्लो रात फिरी लगाउने र भोलिपल्ट दान थाप्दै हिँड्ने योगीलाई भक्तले घरमा सह जाग्ने, भूतप्रेत तथा पिचासले दुःख नदिने विश्वासमा दान दिने गरेका छन् ।