एक इन्च लामो फलामको किला, सेफ्टी पिन, हेयर पिन, ब्रासलेट, सिक्री, मंगलसूत्र, तामाको बाला, चुरा। यो कुनै हार्डवेयर या गहना पसलको सामानका लिस्ट होइन। यो त भारतको अहमदावादस्थित सिभिल अस्पतालमा एक महिलाको पेटबाट निकालिएको चिज हो।
पेट दुख्ने समस्या भएपछि संगिता नामकी ४५ वर्षीया महिला गत ३१ अक्टोबरमा सिभिल अस्पतालमा भर्ना भइन्। उनको शल्यक्रियापछि डेढ किलो तौल बराबरको यस्ता सामान निकालिएको हो।
महाराष्ट्रको शिरडीनिवासी ती महिला मानसिक बिरामी थिइन्। उनी अहमदावादको शाहरकोटडा क्षेत्रमा घुम्ने गर्थिन्। उनलाई अदालतको आदेशद्वारा मानसिक अस्पताल लगियो। सिभिल अस्पतालका जनरल सर्जरी विभागका वरिष्ठ सर्जन डा नितिन परमारले भने, ‘महिलाको पेट ढुंगाजस्तै सारो थियो, एक्सरे गर्दा उनको पेटमा ठूलो भाग देखियो, फोक्सोमा सेफ्टी पिन पुगेको थियो। एउटा सेफ्टी पिनले त उनको पेट नै छेडेको थियो। उनको तत्कालै अपरेशन गरियो ।
साढे २ घण्टासम्म चलेको अपरेशनपछि त्यतिका सामान निक्लेपछि डाक्टरहरु नै आश्चर्यचकित भए। चिकित्सकका अनुसार यस्ता चिज निल्ने समस्यालाई ‘एकुफेगिया’ भनिन्छ, यो एक दुर्लभ खालको मानसिक समस्या हो। जसबाट पीडित मानिसहरु जे पायो त्यही कुरा निल्ने गर्छन्। ती महिलामा पनि कयौं महिनादेखि यस्ता समस्या रहेको पाइएको छ।
अस्पतालबाट डिस्चार्ज भएपछि पनि ती महिलालाई निगरानी राखिएको छ। अस्पतालले उनीलाई परिवारसँग भेट गराउँदा पनि परिवारले नस्विकारेको बताइएको छ।