हिन्दुहरुको दुई ठूला पर्वको समापनसँगै तराईमा मनाइने छठपर्व मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै समापन भएको छ।
हेटौँडाको राप्तीनदी तटमा सयौँ ब्रतालुले सूर्यलाई अर्घ दिएर छठ पर्वलाई विदाइ गरे। यसरी छठ पर्व मनाउनेमा मधेसीमात्र नभई पहाडी मुलका मानिस पनि थिए। ४० बर्षदेखि निरन्तर हेटौँडामा छठ मनाइँदै आएको छ।
छठपर्वमा ब्रतालुहरुलाई उत्साह थप्नका लागि ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि साँझ राप्तीतट पुगेका थिए। त्यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले छठपर्वले तराई र पहाडलाई जोड्नका लागि भूमिका खेलेको बताए। उनले तराईबाट टाढा नरहेको हेटौँडामा मधेसी समुदायले भब्यताका साथ पर्व मनाइरहँदा संस्कृतिको हस्तान्तरण हुँदै गएको भन्दै खुसी ब्यक्त गरे।
‘पहाडी समुदायका मानिसले पनि छठपर्वमा ब्रत बसी पुजा पाठ गर्ने गरेका छन्’, पौडेलले भने–‘यसले हामीबीच भाइचाराको सम्बन्ध बढाएको छ।’
पुजा ब्यवस्थापन समितिले राप्ती किनारमा पुजापाठका लागि बिशेष व्यवस्था मिलाउँदै आएको छ। यसका लागि समारोह समिति गठन भई सबै तयारी गरिएको छ। गतबर्षभन्दा यसबर्ष ब्रतालु र अवलोकनकर्ताको बृद्धि भएको समितिले जनाएको छ।