आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो। उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो।
गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो। लाखौँ भक्तजनले मङ्गलबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए।
तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरेको छठ पूजा समितिका सदस्य चन्द्रकान्त यादवले जानकारी दिए।
उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए। आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ।
दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ। विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो। हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ। यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन्। तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ।
आज बिहान छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए। सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने बताइएको छ। छठ मनाउने क्रममा फोहर जम्मा भएकाले चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताए।
भक्तजनलाई मञ्चले नदीको सौन्दर्यता नबिग्रने गरी पर्व मनाउन आह्वान गर्दै माइकिङसहित जनचेतनामूलक अभियान चलाएको थियो।