मकवानपुरको मनहरी गाउँपालिकाबाट एकाएक भैँसी हराउन थालेपछि चिन्तित बनेका पशुपालक किसानलाई हराएको भैँसी भेटिएपछि राहत मिलेको छ। चोरी भएको भैँसी प्रहरीको सहयोगमा फिर्ता ल्याइएपछि किसानहरु खुसी भएका हुन्।
मनहरी गाउँपालिका ९ ज्यामिरेका नवीन उप्रेतीको व्याउने बेलाको भैँसी गत कात्तिक २४ गते राति हराएको थियो। तिहार लगत्तै हराएको भैँसी खोज्दैमा हैरान भएका उप्रेती भैँसी खोज्दै छिमेकी जिल्ला पर्साको सखुवा प्रसौनी पुगे। त्यहीँ उनले भैसी फेला पारे। भैँसी चोरेर लगेका थिए आफ्नै घरमा नियमित आउने भैँसी ब्यापारी ५० बर्षीय दौलत राउत। भैँसी हराउनुभन्दा दुईदिनअघि राउत उप्रेतीको घर आइपुगेका थिए।
आफ्नो डेढ लाख पर्ने भैँसी राउतको घरमा भेटिएपछि उप्रेती परिवारले प्रहरीमा खबर गरेपछि पर्सा प्रहरीले राउतलाई पक्राउ गरी भैँसी समेत इलाका प्रहरी कार्यालय मनहरीलाई बुझाएको छ। उप्रेतीजस्तै भैँसी हराएर खोजिरहेका मनहरी गाउँपालिका ८ का बुद्धिकुमारी गिरीको भैँसी र पाडो पनि राउतकै घरमा भेटिएको छ। १ लाख रुपैँया पर्ने दुधालु भैँसी र २० हजार रुपैँया पर्ने पाडो खोजिदिन प्रहरीमा आग्रह गरेकी गिरी पनि राउतको घरमा भैँसी भेटिएपछि छक्क परिन्।
तीनैवटा भैँसीलाई ट्रकमा हालेर सखुवा प्रसौनीबाट चोरी गर्ने व्यक्तिसमेत पक्राउ गरी ल्याइएपछि इलाका प्रहरी कार्यालय मनहरीमा रमिता हेर्नको भीड लागेको थियो।
पक्राउ परेका राउतलाई थप अनुसन्धानका लागि अदालत पेस गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बीरेन्द्र पनेरुले बताए। अन्य स्थानीय पनि चोरीमा संलग्न हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। पक्राउ परेका राउतलाई चोरी मुद्दा लगाउनका लागि पीडितले जाहेरी दिएका छन्।
पक्राउ परेका राउत केही बर्षअघिदेखि तराईबाट मकवानपुर र चितवनसम्म भैँसी बिक्री गर्ने ब्यापारी हुन्।