पछिल्ला तीन महिनामा दैनिक सरदर छजनाभन्दा बढी बालिका र महिला बलात्कृत हुने गरेका छन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनापछि दैनिक जसो उजुरी उजुरी पर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार गत साउनदेखि असोजसम्म देशभर गरी ६ सय १ वटा बलात्कारका उजुरी दर्ता भएका छन् ।
यो तथ्यांकले दैनिक औसत ६ जना बालिका, किशोरी र महिला बलात्कृत भएको देखिन्छ । त्यसो त सो अवधिमा बलात्कारको प्रयास गरिएको भन्दै थप २ सय ५२ वटा उजुरी परेका छन् ।
बलात्कारपछि हत्याको अवस्थापनि उस्तै छ । गत साउन र भदौ दुई महिनामा मात्र छजनाको बलात्कारपछि हत्या भएको छ। प्रहरीका अनुसार गत वर्ष बलात्कारपछि हत्याका १४ वटा घटना भएका थिए ।
विगतमा महिला हिंसाका घटनालाई गाउँघरमा ढाकछोप गर्ने चलन थियो तर अहिले महिलामा जागरुकता बढेका कारण यस्तो उजुरी आउनेक्रम बढेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।
अहिले नेपाल प्रहरीले पनि समुदायसँग मिलेर समेत अपराध नियन्त्रणका लागि कार्यक्रमहरु गरिरहेको छ । अभियानसँगै बलात्कार मात्र नभई सबैखाले अपराधमा कमी आउने प्रवक्ता सुवेदीको दावी छ ।