छठ पर्वका अवसरमा गुह्येश्वरीदेखि गौरीघाटसम्म बनाइएको छठी घाटका कारण जम्मा भएको फोहर सफाइ शुरु गरिएको छ ।
वाग्मती सुन्दरता सरोकार मञ्च, प्रतिनिधिसभा सांसदको सचिवालय क्षेत्र नं ४, काठमाडौँ, गुह्येश्वरी विनायक युवा क्लब, श्री छठ पूजा समितिलगायत सङ्घ संस्था र अभियानकर्मीको सक्रियतामा भएको सफाइको नेतृत्व सांसद गगन थापा एवं प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गरेका हुन् ।
आजदेखि शुरु गरिएको सफाइलाई शनिबारसम्म निरन्तरता दिइने अभियानकर्मी परमेश्वर पौडेलले जानकारी दिए। कार्यक्रमको शुभारम्भ गर्दै सांसद थापा, प्रदेशसभा सदस्य वैद्य लगायतले सभ्यताको स्रोत वाग्मती सफाइका लागि सरोकार भएका सबैको हातेमालो हुनुपर्नेमा जोड दिए।
नदी किनारमा आयोजना गरिने पूजा, जात्रा, मेला लगायत कार्यक्रम लगत्तै सफाइ गरिए नदी सभ्यतामा दीर्घकालीन असर नपर्ने सो अवसरमा जानकारी गराइएको थियो ।