चितवनमा मौरीको चरनक्षेत्र जोगाउन मौरीपालक किसानले चिउरीका विरुवा रोप्न थालेका छन्। भण्डारास्थित मौरीपालन विकास कार्यालयले उत्पादन गरेको विरुवा विभिन्न जिल्लाका किसानले लगेर रोपेको कार्यालय प्रमुख शिव रिजालले जानकारी दिए।
उनका अनुसार भण्डाराबाट अहिलेसम्म किसानले ३४ हजार चिउरीका विरुवा लगिसकेका छन्। किसानले दाङमा १० हजार चितवनमा पाँच हजार, मकवानपुरमा पाँच हजार, रौतहटमा तीन हजार, सर्लाहीमा पाँच हजार, बाँकेमा दुई हजार ५ सय, भक्तपुरमा तीन हजार विरुवा लगिएको कार्यालयकोे तथ्यांकमा उल्लेख छ।
रुपन्देहीलगायत विभिन्न जिल्लाका किसानले छुट्टाछुट्टै रुपमा ५० हजार १ सय चिउरीका विरुवा लगेर रोपको कार्यालयका प्राविधिक सहायक बाबुराम पन्तले बताए। अधिकांश मौरीपालक किसानले स्थानीय पहाडी क्षेत्रका सामुदायिक वनसँग सहकार्य गरेर चिउरीका विरुवा रोपेको नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए।
चितवनको चेपाङ गाउँ सिद्धिको बटौली सामुदायिक वनलगायत क्षेत्रमा मौरीपालक किसानको सहभागितामा वृक्षारोपण भइसकेको उनको भनाइ थियो। सो वृक्षारोपणमा चेपाङको समेत सहभागिता थियो। मह उत्पादनका लागि चिउरीको रस महत्वपूर्ण मानिन्छ।
चिउरीको मह औषधिको रुपमा समेत प्रयोग हुने भएकाले उभोक्ताले बढी मन पराउँछन्। पछिल्लो समयमा मौरीको चरनक्षेत्र नास हुँदै गएकाले चरनक्षेत्र जोगाउन यसरी चिउरी रोप्न थालिएको सम्बद्ध किसानले बताए। राज्यले नै नीति ल्याएर चरनक्षेत्र जोगाउनुपर्ने उनीहरुको धारणा थियो।
चरनक्षेत्र जोगाउन नसके मौरीपालन नै प्रभावित हुने भएकाले कार्यालयले विरुवा वितरण थालेको हो। नेपाल मौरीपालक संघ चितवन शाखाका अध्यक्ष रोशन पण्डितले पछिल्लो समयमा खेतीबालीमा बढ्दो विषादीका कारण मौरीको चरन प्रभावित भएको र उचित संरक्षण नहुँदा प्राकृतिकरुपमा रहेका चरन क्षेत्रसमेत घट्दो क्रममा रहेको बताए।
नेपालका पाँच हजार बढी मौरीपालक किसानले करीब दुई हजार चार सय मेट्रिकटन मह उत्पादन गर्छन्। चितवनमा करीब आठ सय मेट्रिकटन मह उत्पादन हुने नेपाल मौरीपालक महासंघले जनाएको छ। चितवनमा विसं २०५१ बाट मौरीपालन शुरु भएको हो।
अहिले ३५० भन्दा बढी किसान मौरीपालन व्यवसायमा लागेका छन्। विशेष गरी मेलिफेरा मौरी व्यावसायिकरुपमा पालिन्छ। नेपालमा मेलिफेरा ५० हजार र सेरेना मौरी एक लाख बढी गोला रहेको अनुमान छ।