काठमाडौँ, २८ कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास बुधबारदेखि शुरु भएको छ ।
गत साउन १६ गतेदेखि संवैधानिक इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था छ ।
बुधबारदेखि शुरु भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जवरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे रहेका छन् ।
संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भए पनि इजलास नियमित बस्न नसक्दा न्याय प्रक्रियामा ढिलाइ भइरहेको थियो । एउटा प्रधानन्यायाधीशको अवकाशपछि अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म वा इजलासका एक मात्र न्यायाधीश नहुँदा पनि उक्त इजलास चल्न सक्दैन ।
प्रधानन्यायाधीश नियुक्त भएर आइसकेपछि पनि संवैधानिक इजलास गठनमा प्राथमिकता दिइएको देखिँदैन । प्रधानन्यायाधीश आउनेबित्तिकै प्राथमिकताका साथ सो इजलास गठन गरेर सुनुवाइ शुरु गर्नुपर्ने हो तर त्यसो हुन सकेको थिएन ।