प्रधानमन्त्री केपी ओलीको असार पहिलो साता सम्पन्न चीन भ्रमणमा भएको एक महत्वपूर्ण सहमति थियो, कर्णाली आर्थिक करिडोर विकासका लागि चीनले संभाव्य सहयोग गराउने।
त्यसअघि वैशाख १ गते रारामा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले हिल्सा-जमुनाह द्रूतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो।प्रदेश र संघीय सरकारको यही प्राथमिकतामा चीन सरकारले पनि चासो दिएको छ।
चिनियाँ सीमावर्ती क्षेत्र हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५ सय ३० किलोमिटर सडक निर्माण गर्न अहिले चीन सरकारले सम्भाव्यता अध्ययन थालेको छ।
‘चीन सरकारले कर्णाली प्रदेशभित्र विकासका थुप्रै काम गर्ने सकारात्मक चासो देखाएको छ,’ प्रदेश सरकारको तर्फबाट उक्त काममा संलग्न प्रदेश सांसद धर्मराज रेग्मीले भने,‘अहिलेसम्म ठोस रुपमा उक्त सडकमा मात्र काम सुरु भएको छ।’चीन सरकारले द्रूतमार्गका साथै कर्णाली प्रदेशको हवाई क्षेत्रमा पनि सहयोगको बचन दिएको छ। यसका लागि प्रारम्भीक चरणमा असोजमा चिनियाँ सरकारको स्वामित्वमा रहेको नर्थवेष्ट सिभिल एभिएसनले सम्भाव्यताबारे छलफल गरी फर्केको छ।
कर्णाली प्रदेशमा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकारले लामो समयदेखि पहल गरे पनि सम्भव भएको छैन। छिन्चुको मदानेचौरमा विमानस्थल निर्माणका लागि प्रस्ताव गरिएको छ। पछिल्लो समय कर्णाली सरकारको आग्रहमा चीन सरकारले चासो देखाएपछि स्थानीयमा आशा जागेको हो। कान्तिपुरमा खबर छ।