धौलागिरीका चार जिल्लालाई केन्द्रित गरेर स्थापित धौलागिरी अञ्चल अस्पताल बागलुङमा १५ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, अहिले मुस्किलले मेडिकल सुपरिटेन्डेन्ट एक र अर्का एक गरी दुईजना स्थायी र तीनजना करारमा कार्यरत छन्।
अन्य १० जनाको रिक्त दरबन्दी परिपूर्ति गर्न अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई निकै सकस छ। कारण दरबन्दी अनुसार धौलागिरी अस्पतालमा खटाइएका डाक्टर सरुवा भएकै दिन रमाना लिने र फिर्ता हुने गरेका छन्।
स्त्री रोग विशेषज्ञ डा. अनुपा थापा, फिजिसियन डा. कल्याण सापकोटा र बालरोग विशेषज्ञ डा. प्रज्वल पौडेल धौलागिरी अञ्चल अस्पतालमा हाजिर भएर २४ घन्टा नबित्दै फिर्ता भएका हुन्।
धेरै मेहनत र दबाबपछि अस्पतालमा खटाइएका तीन विशेषज्ञ डाक्टर अस्पतालको रमाना बिना केन्द्रीय तहबाटै फिर्ता भएको जानकारी आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए।
सरुवाको २४ घण्टा नबित्दै फर्केका डाक्टरहरु मध्ये डा. थापा बुटवलस्थित लुम्बिनी अस्पताल, डा. सापकोटा भरतपुर अस्पताल र डा. पौडेल वीर अस्पतालमा छन्। अस्पताल व्यवस्थापन समितिमा नयाँ नेतृत्व आए पछि जिल्लाबाट प्रतिनिधित्व गर्ने १५ जना सांसदलाई बोलाएर ध्यानाकर्षण गराइएको थियो। त्यसपछि प्रदेश र संघमा मन्त्रालयबाट ढिलासुस्ती भएको तीव्र आरोप र दबाबपछि डाक्टर खटाएको थियो।
कतिपयले सरुवा भएर आउने बेलामै काज र फिर्ताको कागज बनाएर आउने गरेको समेत अस्पताल स्रोतले खुलासा गरेको छ। कतिपयले हाजिर गराएकै बेला कार्यालय प्रमुखसँग रमानापत्रमा पनि हस्ताक्षर गराउने गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ।