देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा तीन वर्षको अवधिमा नियम मिचेर चोरबाटोबाट झन्डै ५ सय कर्मचारी नियुक्त गरेको पाइएको छ। सेवा सुविधा विस्तारको वहानामा अस्पताललाई कर्मचारी भर्तीकेन्द्र बनाइएपछि सेवा प्रवाहमा समेत नकारात्मक असर परेको छ।
अस्पतालमा सरकारीबाहेक संस्थानअन्तर्गको कर्मचारीको भर्ना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगले गर्ने प्रावधान छ। तर सेवा आयोगलाई निष्क्रिय बनाउँदै अस्पतालका उच्च पदाधिकारीहरूले तीन वर्षमा आफूखुसी ४८५ कर्मचारी भर्ना गरेको पाइएको हो।
कार्यालय सहायकदेखि चिकित्सकसम्म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पताल र वीरअन्तर्गत रहेको ट्रमा सेन्टरमा ती कर्मचारी भर्ना गरिएको छ।
भर्ना हुनेमा उच्चपदस्थका आफन्त तथा निकटस्थ रहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ। सेवा आयोगले २०७२ असोज यता कसैलाई पनि नियुक्ति गरेको छैन। तर त्यसयता वीर अस्पताल र सोअन्तर्गत रहेको ट्रमा सेन्टरको विभिन्न विभागमा ४८५ जना कर्मचारी थपिएका छन्।
नियम मिचेर भर्ना गरिएका कर्मचारीको सेवा सुविधामा राज्यकोषबाट वार्षिक करोडौं रुपैयाँ खर्च भइरहेको छ। मनोमानी थपिएका कर्मचारीमध्ये वीर अस्पतालमा २५८ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २२७ जना कार्यरत छन्। राजधानी दैनिकमा खबर छ।