फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।
नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुआत गर्न लागिएको हो ।
भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्न गृहमन्त्री रामबहादुर थापा सोमबार पाँचथर जाने कार्यक्रम तय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको थालनी भएको थियो ।
राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने निर्देशक न्यौपानेले जानकारी दिए ।
उक्त कार्यक्रमको तयारी पूरा भएको तथा सोही अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत आयोजना गरिएको उनले बताए ।
सोमबार नै पाँचथरमा ५० जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।