लौ आयो त्रिशूलीको कान्छी बदाम आयो, नुवाकोटे बदाम” भन्दै अहिले पनि राजधानीलगायत अन्य ठाउँमा व्यापारीले डालामा राखेर बदाम बेच्ने गर्थे । अहिले साँच्चिकै भनूँ भने नुवाकोटे बदामको स्वाद अहिलेका मानिसले चाख्न पनि पाएका छैनन् । नुवाकोट, विदुर –७ तुप्चेका ३९ वर्षीय कृष्ण रिजाल भन्छन्, “पहिला हामी भुरा हुँदा आफ्नै घरमा मात्र नभई टोलछिमेकले कात्तिके चिसो बदाम खनेर ल्याएपछि आँगनभरि सुकाएको देखिन्थ्यो तर अब एक घान भुटेर खान त बजारमै गई किनेर ल्याउनुपर्छ, आँगनमा बग्रेल्ती सुकाएर बेच्न अब कहाँ पाउनू ?”
जिल्लाको ग्रामीण भेगमा रहेका पाखाबारीमा बीस वर्ष पहिले बदाम खेतीको चाप बढ्दो रुपमा थियो । अहिले जिल्लामा मात्र नभई नेपालभरि प्रख्यात ‘त्रिशूलीको कान्छी बदाम’लाई नुवाकोटे आफैँले सिलो खोज्नु पर्नेभएको छ । वर्षैपिच्छे नुवाकोटको देवीघाटमा ठूलो एकादशी मेला लाग्छ । अहिले पनि नजिजिएको यस मेलामा जिल्लामा उत्पादित बदाम, सखरखण्ड, पिँडालु, मास, भटमास, आलुलगायत कन्दमूल तथा खाद्य पदार्थ बेच्न राखिएको पाइन्छ तर अहिले बदाम भने कमै देखिन्छ । पहिले बदाम फलाएर घरमा ल्याइएपछि कहाँ बेच्ने भनेर बजार धाइरहनुपर्ने झण्झट पनि थिएन ।
गाउँकै व्यापारीले घरमै आएर पाथीको हिसाबले किनेर लाने गरेको बुधसिङ– ४ का ६० वर्षीय रत्नबहादुर श्रेष्ठले बताए । उनी भन्छन,“बीस वर्षसम्म मैले गाउँको बदाम भरेको हुँ, आफ्नो गाउँमा मात्र हैन, तारुका र्गोस्याङ, खुमालटार, ए कति टाढाटाढा गएर पाथीको हिसाबले किन्ने गरेको थिएँ । पछि मान्छेले बदाम लगाउनै छाडे, किनबेचको काम घट्ने भएपछि मैले नि यो काम छाडेको अहिले १० वर्षजति भयो । ”
उनले एक पाथीको रु १० बाट किन्न शुरु गरेको र पछि रु बीस, पच्चीस, तीस, चालीस र पचाससम्म किनेर रु पाँचदेखि सातसम्म फाइदा लिई बेच्ने गर्नुहुन्थ्यो । पछि समय नै बदलियो । सबै थोकका भाउ बढ्यो । अहिले त पाथीकै रु दुई सयदेखि तीन सय कतै त चार, पाँच सय पनि भन्छन् । “अब यो व्यापार गरेर सकिन्न ।
।
नुवाकोट कृषि विकास कार्यालयको तथ्याङ्कानुसार अहिले बदाम खेती धेरै घटेर गएको छ । कार्यालयका प्रमुख कमल गैरेले जिल्लामा धेरैभन्दा धेरै खेतियोग्य जमीनमा बदाम लगाउने गरेको पुरानो तथ्याङ्क भए पनि आजकल बदाम खेती कमै पाइएको बताइएकाे छ। यसरी सामान्यतया हरेक वर्ष बदाम खेती हुने क्षेत्रफल र उत्पादन परिमाण पनि घट्ने गरेको छ । अहिले गाउँ वा नगरका जमीन बाँझै रहेको र किसानले खेती गरिए पनि बदाम भने आफूलाई खान मात्र पुग्ने गरी पाँच सात पाथी फल्ने मात्र लगाउने गरेका छन् । रासस