पोखरा विमानस्थलको धावनमार्गमा सामान्य समस्या देखिएपछि नागरिक उड्डयन प्राधिकरणले मर्मत थालेको छ । साँझपखका उडान कटौती गरी प्राधिकरणले आइतबारबाट मर्मत थालेको हो ।
दिउँसो ३ बजेपछिका सबै उडान कटौती गरी रातिमा मर्मतको काम हुने पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईंले बताए । उनले भने,‘विमानस्थलको यो सामान्य मर्मत हो, गिट्टी उप्किने र केही ठाउँमा सामान्य चिरा पर्ने समस्या देखिएकाले मर्मत गर्र्नु परेको हो । पोखरा विमानस्थलबाट बिहान साढे ६ बजेबाट घाम अस्ताउने बेलासम्म उडान हुँदै आएको थियो । दिउँसो ३ बजेपछि पोखरा विमानस्थलमा उडान नभर्न सबै विमान कम्पनीलाई प्राधिकरणले सूचना जारी गरिसकेको छ ।
दिउँसो ३ बजेदेखि राति १० बजेसम्म मर्मतको काम र त्यसपछि बिहान ६ बजेसम्म सुकाउने काम गरिनेछ । रनवे, ट्याक्सी–वे, एप्रोनसहित धावनमार्ग वरिपरि समेत मर्मत हुनेछ । यसअघि पोखरा विमानस्थलको मर्मत हुने गरे पनि अहिले भने नयाँ प्रविधिबाट काम हुन लागेको निर्देदश गुरागाईंले बताए । उनका अनुसार उप्किएका गिटी अड्याउने र चर्किएको ठाउँ टाल्ने यो प्रविधिलाई ‘स्लरी सिल’ भनिन्छ ।
१५ दिनमा काम सक्ने गरी नागरिक उड्डयन प्राधिकरणले १ करोड ९० लाख रुपैयाँमा मर्मतको ठेक्का दिएको हो । मुख्य रनवेको काम १५ दिनमा सकिए पनि छेउछाउको काम सक्न भने १ महिना लाग्ने छ । ‘आवश्यक उपकरण, सामग्री आइसकेका छन् । प्राधिकरणका इन्जिनियर पनि आइसक्नुभएको छ, काम धमाधम हुन्छ,’ निर्देशक गुरागाईंले भने । पर्यटकीय सिजन भए पनि उडानलाई कम प्रभाव पर्ने गरी मर्मत थालिएको उनको भनाइ थियो । साँझपखका केही उडान अगाडि सारेर सेवा कम भन्दा कम प्रभावित हुने गरी काम थालिएको गुरागाईंले बताए । बर्खायाममा यो काम गर्न नसकिने र पुस, माघमा धेरै जाडो हुने भएकाले यही समय उपयुक्त भएको उनको भनाइ थियो । पोखराबाट काठमाडौं, जोमसोम, भरतपुर र भैरहवा उडान हुँदै आएका छन् ।
अहिले पोखराको छिनेडाँडामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । २०७८ असार १५ मा निर्माण सम्पन्न भएर उक्त विमानस्थलबाट उडान हुनेगरी अहिले काम भइरहेको छ । छिनेडाँडाको विमानस्थल बनिसकेपछि यो विमानस्थल बन्द हुनेछ । यसको प्रयोगको बारेमा भनेर सरकारले कुनै योजना बनाइसकेको छैन ।
अबको १ वर्षमा धावनमार्ग बनाइसक्ने र अरु सबै काम तोकिएकै समयमा सम्पन्न हुने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीीले जनाएको छ । भौगोलिक अवस्थितिका कारण पोखरामा ठूला जहाज आउने सम्भावना छैन । २ सय सिट सम्मका जहाज यहाँ आउन सक्ने प्राविधिकहरुले बताएका छन् ।
नागरिक उड्डयन प्राधिकारणका महानिर्देशक सञ्जीव गौतमले चिनिया कम्पनीले निर्माण सकेर हस्तान्तरण गर्ने वित्तिकै पोखरामा नियमित उडान थाल्ने बताए । निर्माणको काम चलिरहँदा आफूहरुले आन्तरिक काम गरेर सक्ने बित्तिकै व्यावसायिक उडान गरिहाल्ने भनाइ उनको थियो । सिंगापुर, दोहा, बेइजिङ, अजरबैजानसम्म पोखराबाट उडान हुने जानकारी उनले दिए ।