‘अपराधमुक्त समाज’ नामक संस्था खोलेर सर्वसाधारणसँग लाखौँ रुपैंया ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई जनकपुरबाट पक्राउ गरेको छ ।
अपराधमुक्त समाज नेपालको नाममा सम्पर्क कार्यालय खोली सर्वसधारणसँग रकम असुली गरेको घटनामा दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२१ घर भइ जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय अनिलकुमार मण्डल र जनकपुरधाम–४ बस्ने २२ वर्षीया नितु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
संस्थाका सञ्चालले जागिर दिने बहानामा काठमाण्डौं देखि जनकपुरसम्मका सर्वसाधारणसँग लाखौं रुपैयाँ ठगी गरेको आरोप छ । उनीहरुको साथबाट अपराधमुक्त समाज नेपालको विधानको प्रतिलिपि, नगद ३ लाख ३५ हजार, नाम लिष्ट भएका रजिष्टरलगायतका कागजातहरु बरामद भएको प्रहरीले जनाएको छ ।
जनकपुरको पिडाडी चोकमा अपराधमुक्त समाज निर्माण अभियानको नाउँमा कार्यालय खोलेर अपराधमुक्त समाज निर्माणका लागि संस्थाले कर्मचारी भर्ना खोलेको थियो । कर्मचारीलाई तालिम दिन प्रतिव्यक्ति १० हजार नगद लिएर भर्पाइ रसिद नदिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।