मर्स्याङ्दी गाउँपालिकाले मंसिर ३ गते सोमबारदेखि आयोजना गरेको प्रथम मर्स्याङ्दी महोत्सवमा खुदीको अमर माविमा चार दिनसम्म पढाइ भएन।
महोत्सव स्कुलभित्र आयोजना गरेकाले पठनपाठन हुन नसकेको अमर माविका एक शिक्षकले बताए। उनले भने,‘महोत्सव अवधिभरि मर्स्याङ्दी गाउँपालिकाभित्रका अरु विद्यालयमा पनि पढाइ भएनन् ।’
अभिभावकहरुले भने महोत्सवको नाममा स्कुल बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। मर्स्याङ्दी गाउँपालिका-५ को गंगामिलन माविका प्रधानअध्यापक थपन गुरुङले गाउँपालिकाबाट दुई दिन स्कुल बन्द गर्ने निर्देशन आएपछि स्कुल बन्द गरेको बताए। पहिलो दिन प्रमुख अथितिको स्वागतका लागि र दोस्रो महोत्सव अवलोकन गर्नका लागि स्कुल बन्द गरेको गुरुङले बताए।
बालबालिकाको शैक्षिक स्तर सुधारमा स्थानीय सरकार लागि पर्नुको साटो उल्टो स्कुल बन्द गरी महोत्सव आयोजना गर्नु गलत भएको स्थानीयहरु बताउँछन्। गाउँपालिकाले विद्यालय बन्द गर्ने कुनै पनि निर्णय नगरेको र गाउँपालिका भित्रका विद्यालयलाई आफूखुसी विद्यार्थीलाई महोत्सव अवलोकन गर्ने बोलाएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुुरुङले बताए।
पहिलेदेखि अमर माविमा एकादशी मेला हुने गरेको र त्यसैलाई परिमार्जित गर्दै स्थानीय सरकारले महोत्सव आयोजना गरेको गुरुङले बताए। पछि अरु विदा कटौति गरी विद्यालय सञ्चालन गर्ने अध्यक्ष गुरुङले बताए। शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख नारायण रेग्मी महोत्सवको नाममा विद्यालय बन्द गराउन नहुने बताउँछन्। ‘सबै राजनीतिक दल तथा सम्बन्धित निकायले विद्यालय शान्ति क्षेत्रमा हस्ताक्षर गरेका छन्’, उनले भने, ‘महोत्सवका कारण विद्यालय बन्द हुनु दुःखद् हो।’ अब स्थानीय तहले विद्यालयलाई निगरानी गर्नुको सट्टा विद्यालय नै बन्द गर्नु गलत रहेको उनले बताए।
भविष्यका कर्णधारको रुपमा हेरिने बालबालिका नै विद्यालय बाहिरा हुदाँ उनीहरुको मनोविज्ञानमा पर्ने असरको समेत मूल्याकंन गर्न जरुरी छ, भने गाउँगाउँमा शैक्षिक गुणस्तर सुधार्ने स्थानीय सरकारको नीतिमाथि चुनौती थपिएको छ।