बर्सेनि वर्षायाम सुरु हुनेबित्तिकै पहिरोको डरले ओलगुत्ताकाका बासिन्दालाई घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ।
स्थानीय नलगाड नगरपालिका–१३, ओलगुत्ताका बासिन्दा वर्षौंदेखि यसरी नै बसोबास गर्दै आएका हुन्। असार, साउन र भदौ महिनामा करिब ५० घरधुरीका बासिन्दा आफ्नो घर र जग्गा छाडेर जीवन बचाउन रुकुम, आठबीसकोट नगरपालिकाको वडा नम्बर–६ मा बस्दै आएका छन्।
पानी पर्नेबित्तिकै घरमाथि रहेको ठूलो पहाडबाट ढुंगा खस्ने र पहिरो आउने डर भएकाले घर छाड्न बाध्य हुनुपरेको स्थानीय तेजबहादुर विकले बताए। यस ठाउँमा पटक–पटक पहिरो आएर एकदर्जन मानिसको मृत्यु भइसकेको छ।
पहिरोका कारण यहाँका बासिन्दाले घाँस, दाउरा गर्न र घरपालुवा जनावरलाई चरनका लागि लैजान पनि डराउने गरेको उनको भनाइ थियो।जोखिममा रहेका यो बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न कुनै पहल नहुँदा उनीहरू बर्सेनि घर छाड्न बाध्य भएका हुन्।
पानी नपरेको समयमा दिउँसो गएर घरको काम गर्ने तर सुत्न भने रुकुम नै आउने गरेको अर्का स्थानीय शुक्रराज सिंहले जानकारी दिए। यहाँ रहेका स्वास्थ्य संस्था र विद्यालयमासमेत माथि रहेको पहाडबाट पहिरो आउँछ कि भनेर हेर्दै काम गर्नुपरेकोे शिक्षक भोलीप्रसाद विष्टले पीडा सुनाए।
सन्चार सेवासमेत भरपर्दो नभएको यस ठाउँमा कतिबेला के हुन्छ भन्न नसकिने उनको भनाइ थियो। भेरी नदीको किनारमै रहेको यो बस्ती जाजरकोटको अतिविकट स्थान मानिन्छ।