पछिल्लो चार महिनाको अवधिमा दैवीप्रकाेपका विभिन्न घटनामा प्रदेश ७ मा २९ जनाको मृत्यु भएको छ। प्रदेश सातमा दैवीप्रकाेपका घटनामा सबैभन्दा बढी बझाङमा जनधनको क्षति भएको छ।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार चार महिनाको अवधिमा दैवीप्रकाेपका घटनाबाट प्रदेश सातका विभिन्न जिल्लामा २२ जना घाईते भएका छन्। आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार प्रदेशमा पहिरोमा परि छ जनाको मृत्यु भएको छ। त्यस्तै, बाढीबाट आठ जना, हावाहुरिबाट दुई, नदीखोलामा डुबेर १२ जना र भारी वर्षाका कारण एक जनाको मृत्यु भएको छ।
सात नम्बर प्रदेशमा विपदमा १६ जना महिला र १३ पुरुषको मृत्यु भएको छ। त्यस्तै, विभिन्न दैवीप्रकाेपका विभिन्न घटनामा १२ महिला र १० जना पुरुष घाईते भएका छन्। केन्द्रको तथ्यांकअनुसार भारी वर्षासंगै बाढी, पहिरो, डुवान, हावाहुरी, लगायतका घटनामा तीन सय ३९ जना प्रभावित भएका छन्।
त्यस्तै, १४ वटा घरमा पूर्ण क्षति भएको छ भने दुई सय ५२ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, छ गोठ भत्किनुका साथै ४१ वटा पशुचौपायामा क्षति पुगेको छ। चार महिनाको अवधिमा दैवीप्रकाेपका विभिन्न घटनामा बझाङमा ज्यान गुमाउनेको संख्या सबैभन्दा अधिक रहेको छ। बझाङमा आठ जना पुरुष र छ महिला गरी १४ जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्।
त्यसैगरी, कैलालीमा सात महिला र एक पुरुष गरी आठ जनाको मृत्युु भएको छ। कैलालीमा दुई पुरुष र एक महिला गरि तीन जना वेपत्ता अवस्थामा रहेका छन्। राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार दैवीप्रकाेपका विभिन्न घटनामा कञ्चनपुरमा दुई पुरुष र तीन महिला गरी पाँचको मृत्यु भएको छ भने दुई पुरुष र एक महिला गरि चार जना घाईते भएका छन्।
त्यस्तै, बैतडी र दार्चुला जिल्लामा पहिरो र बाढीमा परि एक-एक जना पुरुषको मृत्यु भएको छ। प्रदेशको बाजुरा र अछाममा यो चार महिनाको अवधिमा दैवीप्रकाेपबाट मानवीय क्षति भएको छैन। तर, ती जिल्लामा दुई लाख १९ हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ।
केन्द्रको तथ्यांक अनुसार कैलालीमा भारी वर्षामा परि एक महिलाको मृत्यु भएको थियो भने नदीमा डुबेर एक पुरुष र तीन महिलाले ज्यान गुमाएका थिए। त्यस्तै, कैलालीमा हावाहुरीबाट दुई महिला र पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। कैलालीमा हावाहुरीका कारण एक सय ७० घर प्रभावित भएका थिए भने एक सय ६५ मा आंशिक क्षति पुगेको उल्लेख छ। भारी वर्षाका कारण एक घर पूर्ण क्षति पुगेको उल्लेख छ।
त्यस्तै, बझाङमा पहिरोमा परि दुई पुरुष र दुई महिला गरी चार जनाले ज्यान गुमाएका थिए। भने, बाढीबाट पाँच पुरुष र तीन महिला गरि आठ तथा नदीमा डुवेर एक महिला र एक पुरुषको मृत्यु भएको थियो। कञ्चनपुरमा नदीखोलामा डुवेर दुई पुरुष र तीन महिलाको मृत्यु भएको थियो भने दार्चुलामा पहिरोमा परि एक पुरुष र बैतडीमा डुवेर एक पुरुषको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ।
तर, प्रदेश सरकारले भने प्रदेशमा चार महिनाको अवधिमा १८ जनाको मृत्यु भएको जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो चार महिनाको अवधिमा प्रदेशमा बाढी तथा पहिरोका कारण कैलाली, कञ्चनपुर, बझाङ, डोटी र दार्चुलामा गरि १८ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोका घटनामा दुई जनाको अवस्था अझैं अज्ञात रहेको छ।
आन्तरिक मामिला मन्त्रालयका अनुसार दैवीप्रकाेपबाट बझाङमा सबैभन्दा बढि १३ जनाको मृत्यु भएको छ। बझाङमा पहिरोमा सात र बाढीबाट छ जनाको मृत्यु भएको छ। बझाङमा नदीमा बगेका दुई जनाको अवस्था अझै अज्ञात छ।
त्यस्तै, कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ भने कञ्चनपुरमा बाढीबाट एक जना, दार्चुलामा चट्याङ लागेर एक जना र ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको थियो।