कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सार्वजनिक स्थानमा शौचालय नहुँदा सर्वसाधारणले निकै नै सास्ती खेप्नु परेको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सार्वजनिक शौचालयको समस्या देखिएपछि वीरेन्द्रनगर नगरपालिकाले झण्डै तीन लाखमा एउटा घुम्ती शौचालयको व्यवस्था गरेको थियो। तर, केही समयमै घुम्ती शौचालय जिर्ण बनेपछि नगरपालिकामै थान्किएको छ।
घुम्ती शौचालय थन्किएपछि वीरेन्द्रनगरमा कतै पनि सार्वजनिक शौचालयको व्यवस्थापन गरिएको छैन। मानिसको अत्याधिक चाप हुने स्थानीय बसपार्कमा शौचालय नभएपछि यात्रुहरु छेउछाउका होटलहरुमा जाने गरेका छन्।
जुनिचाँदे गउँपालिका जाजरकोटका शिशिर विष्टले कर्णाली प्रदेशको राजधानी भइसक्दापनि वीरेन्द्रनगरका कुनैपनि स्थानहरुमा सार्वजनिक शौचालय नहुँदा निकै समस्या खेप्नु परेको बताउँछन्। वीरेन्द्रनगर बजारमा आउँदा दिशा, पिसाब लाग्दा होटेलमा जानु पर्ने बाध्यता रहेको उनी सुनाउँछन्।
प्रदेश सरकारले वीरेन्द्रनगरमा सार्वजनिक शौचालयको व्यवस्था गरे सर्वसाधारणलाई सहजता हुने उनले बताए। सुर्खेतका गाउँवस्तीबाट किनमेल गर्न आउने स्थानीयले शौचालयबारे सोधे व्यवसायीले छैन भन्ने भन्दा अर्को विकल्प देखिँदैन।
वीरेन्द्रनगरमा व्यवसाय गर्दै आएका पूर्ण ओलीले कतिपय ग्राहकलाई शौचालय हुँदा पनि छैन भनेर पठाउने गरेको बताए। उनले भने,‘पसलमा आएका सबै ग्राहकलाई शौचालयमा पठाउन सकिन्न, कोही ग्राहकलाई पठाएपनि घरबेटीले कुरा सुनाउँछन्।’
कतिपय ग्राहकलाई शौचालय पठाउँदा घरबेटीको भनाइ सुन्नुपर्ने व्यवसायी ओली बताउँछन्। उनले प्रदेश सरकारले सार्वजनिक शौचालयको व्यवस्था गरे ग्राहकलाई पठाउन सजिलो हुने बताए। वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण खड्काले वीरन्द्रनगरका तीन स्थानमा सार्वजनिक शौचालय बनाएको बताएका छन्।
उनका अनुसार नगरपालिकाले जिल्ला प्रहरी कार्यालय नजिक, हटिया चोक नजिक र मंगलगढि चोक नजिक सार्वजनिक शौचालय बनाएको छ। कार्यकारी अधिकृत खड्काले राजधानीका विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउने योजना भएपनि उपयुक्त ठाउँ नभएकाले बजेट विनियोजन नगरिएको बताए।