सुर्खेतको भेरी अञ्चल आयुर्वेदिक औषधालयमा रहेको चुर्ण उत्पादन गर्ने डिस्क मिल बजेट अभावका कारण केही वर्षयता बन्द छ। बजेट, जडिबुटीका साथ साथै डिस्क मिल चलाउने प्राविधिक नहुँदा चुर्ण उत्पादन गर्ने डिस्क मिल बन्द रहँदै आएको हो।
भेरी अञ्चल आयुर्वेदिक औषधालय सुर्खेतमा बिरामीको संख्या धेरै हुने भएकाले पनि जडिबुटीको अभाव हुने गरेको औषधालय सुर्खेतका कविराज श्रीराम आचार्यले बताए। आयुर्वेदिक औषधालयमा निःशुल्क उपचार हुने भएकाले पनि बिरामीको संख्या धेरै हुने गरेको आचार्यले बताए।
वीरेन्द्रनगर नगरपालिका र जिल्ला विकास समिति सुर्खेतको सहयोगमा जेनतेन सञ्चालनमा रहेको भेरी अञ्चल आयुर्वेदिक औषधालयले अहिले आयुर्वेदिक औषधि उत्पादन गर्न सकेको छैन। बजेट र जडिबुटीको अभावले बिरामीलाई उपचार गर्न नसकिएको औषधालय सुर्खेतका आचार्यले बताए।
आवश्यक वजेट सरकारसँग् माग गरेपनि राज्यले आयुर्वेदिक अस्पताल सञ्चालनमा ध्यान नदिएको आयुर्वेद चिकित्सक डा.महेन्द्रकुमार खनालले गुनासो गरे। उनले स्थानीय निकायसँग औषधालय सञ्चालन गर्ने रकम माग गरी जेनजेत सञ्चालन गरिराखिएको बताए। वर्षमा १५ किलो आयुर्वेद अभिपत्तिका चुर्ण सरकारले पठाए पनि औषाधलयमा दैनिक २ देखि ५ किलोसम्म खपत हुने गरेको खनालले बताए। औषधी धेरै खपत हुने भएकाले जडिबुटीको झनै अभाव रहेको उनको भनाइ छ।
चिकित्सक डा. खनालले सरकारले माग गरे अनुसार रकम उपलब्ध गराउन सकिए जडिबुटी र दक्ष प्राविधिक ल्याएर डिस्क मिल चलाएर चुर्ण पाउडर उत्पादन गर्न सक्ने आशा व्यक्त गरे। उनले भने,‘हामीले रकम माग त गरेका छौं। तर भनेजति रकम आयो भने जडिबुटीसँगै प्राविधिक ल्याएर डिस्क मिल सञ्चालनमा ल्याउने थियौं।’