धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का श्याम यादवको चिउँडोदेखि कम्मरसम्म ठूलो मासुको डल्ला पलाएको छ। उनको अनुहारभर स–साना डल्ला छन्। कसैले हेरिरह्याे भने उनलाई दिक्क लाग्छ।
न त धेरै हिँडडुल गर्न सक्छन् श्याम, न त सके जति पनि उनलाई हिड्न मन नै लाग्छ। ‘मलाई देखेर फर्कि फर्कि हेर्ने, कुरा काट्दै हिँड्छन्। बालबालिका डराउँछन्,’उनले भने,’ काम गर्न त परै जाओस् धेरै हिलडुल पनि गर्न सक्दिनँ।’ श्याम जन्मदै चिउँडोमा एउटा सानो गिर्खा थियो। र, पछि उमेर बढ्दै गएसँगै चिउँडोको मासुको डल्ला पलाउँदै आयो। सामान्य अवस्थामा उनलाई त्यो डल्लो नदुःखेपनि हल्का चोट लाग्दा रगत आउन थाल्छ र दुःखाइको पीडाबाट उनी छट्पटाउँछन्।
गाउँ नजिकैको बजार जाँदा, गाडी चढ्दा मान्छेहरू तर्सिने गरेको उनले बताए। ‘बसको सिटमा बस्दासँगैका यात्रू सिट छोडेर जान्छन्। ‘कोही नमिठो बचन बोल्छन् भने बालबालिका डराएर भाग्छन्,’ उनले भने, ‘मेरोजस्तो पीडा अरू कसैले भोग्न नपरोस्।’ मानिसका यस्ता व्यवहारले उनी रातभर घरमा सोच्छन्। ‘मेरो पीडा बुझ्ने यो संसारमा भगवान् त छैनन्,’ श्यामले भन्छन्,‘बुबा त बित्नु भयो, आमा र मामाको साथ र सहयोगले बाँचिरहको छु।’
शारिरीकरूपले सामान्य हिलडुलबाहेक केही काम गर्न नसक्दा पनि उनी अपाङ्गता भएको व्यक्तिको सूचीमा छैनन्। ‘एउटा औँला काटिएका व्यक्तिसँग अपाङ्गता भएको कार्ड हुन्छ। उनीहरू सरकारी सुविधा र भत्ता पाउँछन् तर, मैले केही काम गर्न नसक्ने हुँदा पनि सरकारी सुविधा र भत्ता पाउँदिनँ,’ उनले दुःखेसो पोखे।
उनी मानसिक रूपले समेत पूर्णरूपमा सक्षम छैनन्। तर, सानो घाउचोट लागेका व्यक्तिले पनि पहुँचका आधारमा अपाङ्गता भएको कार्ड लिएर तलव तथा सरकारी सुविधा लिँदा उनी टुलुटुलु हेरेर बस्छन्। ४५ वर्षीय श्याम धनुषाकै लक्ष्मिनिया गाउँपालिकास्थित निकालमा आफ्नो मामा घरमा बस्छन्।
श्यामकै जस्तो दुःखेसो पोख्छिन् मिथिला विहारी नगरपालिका–७ की दृष्टिविहीन परिवारकी रामसती साह। उनका तीन भाइबहिनी छिन्। तिनै भाइबहिनी दृष्टिविहीन छन्। उनले जेनतेन गाउँ छिमेकमा अरूको काम गरी गुजारा चलाउँदै छिन्। ‘हामी घरमा तीनै भाइबिहीनी दृष्टिविहीन छौँ। अरूले दाया लागेर कुनै काम दिएपछि गरेर हामी खान्छौँ, गुजारा चलाउँछौं,’ उनले भनिन्,‘तर, हामी सरकारबाट अपाङ्गता भत्ता लगायतका सेवा सुविधा पाइराखेका छैनौं।’
मिथिलाविहारी नगरपालिका–७ की दृष्टिवीहीन मन्तोरीया कुमारी स्थानीय तहको चुनाव अघि एक वर्षसम्म तीन सय रूपैयाँका दरले मासिक भत्ता पाइन्।
तर, स्थानीय जनप्रतिनिधि आइसकेपछि अपाङ्ग भत्ता दिन बन्द गरेपछि जीविकोपार्जन गर्न गाह्रो भएको मन्तोरीले दुःखेसो पोखिन्। मिथिला नगरपालिकामा मात्र करिब ४०० अपाङ्गता भएका व्यक्ति रहेको र उनीहरूले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित रहेको तराई अपाङ्ग संघका अध्यक्ष विन्दुकुमार यादवले बताए।
‘तत्कालीन गाविस विघठन भइसकेपछि स्थानीय निर्वाचनपछि अपाङ्गता भएका व्यक्तिहरू पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएका छन्,’ अध्यक्ष यादवले भने,‘हामीले नगर प्रमुखलाई भेटेर अपाङ्ग भत्ताबारे माग गर्दा पनि सुनुवाई भएको छैन।’ मुलुक नयाँ संरचनामा गएपछि यसअघि महिला विकासबाट अपाङ्गता भएकाहरूका लागि आएको भत्ता दिने अधिकार स्थानीय तहलाई दिइएको छ।
तर, नगर प्रमुख अनिल यादवले स्थानीय तहले नै भत्ता दिनुपर्ने विषयमा आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिए।