जनकपुरमा आफ्नै छोरीको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । १६ वर्षीया छोरी सोनी मण्डलको हत्या गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापडा बस्ने ४० वर्षीया राजकुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी राजकुमारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । छोरी हत्याको आरोपमा प्रहरीले आमा राजकुमारीसहित अन्य चारजनलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
फर्निचर व्यवसाय गर्दै आइरहेका रामवरण मण्डलकी छोरी सोनी आफ्नै घरमा मृत फेला परेको सूचनाको आधारमा प्रहरीले तत्काल अनुसन्धान प्रक्रिया अगाडी बढाएपछि उनको हत्या भएको रहस्य बाहिर आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी उपरिक्षक गोविन्द थपलियाका अनुसार ८ कक्षामा अध्ययनरत सोनी केही समयदेखि प्रेममा परेकी थिइन् । प्रेमीसँग विहे गराइदिनुपर्ने भन्दै आमासँग ढिपी गरिरहँदा विवाद बढेपछि आमाले हत्या गरेको भन्दै प्रहरीलाई बयान दिएकी छन् ।
घरको काममा समते त्यती सहयोग नगरेको विषयलाई लिएर आमासँग पटक पटक विवाह हुुँदै आएको थियो । आमासँग झगडा भएपछि मृतक सोनीले घरमा छुट्टै पकाएर खाने गरेको र बरु बिहे गरिदेउ म तिम्रो घरमा बस्दिन भनेर झगडा हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएको बुधबारसमेत भान्सामा पकाएको पकौडाको विषय लिएर आमा र छोरीबीच झगडा भएको थियो ।
झगडाकै क्रममा छोरी सोनीले ढोकामा लगाउने आग्लो (बिलैया) ले प्रहार गरी आमाको घाँटीसमेत थिचेकी थिइन् । प्रतिकारको क्रममा आमा राजकुमारीले समेत छोरी सोनीको घाँटी च्यापेकी थिइन् । आमाले घाँटी थिचेको केहिबेर पछि सोनी बेहोस भएर भुईंमा लडेकी थिइन् ।
यसअघि पनि झगडा हुँदा बेहोस हुने नाटक गर्ने गरेकोले यसपटक पनि नाटक गरेको आमा राजकुमारीलाई लागेको थियो । तर पछि हेर्दा छोरी सोनीको मृत्यु भइसकेको उनले थाह पाइन् । भुईंमा रहेकी सोनीलाई अन्य दुईजना छिमेकी महिलाको सहयोगमा खाटमा राख्न लगाएको आमा राजकुमारीले प्रहरीसमक्ष वयान दिएको धनुषा डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।