सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिकांश स्थानीय तहमा सचिव तहका कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् ।
तीन तहको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि स्थानीय तहले कर्मचारी नपाउँदा जनताले दुई दिन पैदल हिँडेर सेवा लिनुपरेको त्रिवेणी नगरपालिका–७ का गीता साउदले गुनासो गरे ।
उनले गाउँ,गाउँमा सिंहदबार आएको आफूले महसुस नगरेको उल्लेख गर्दै गाउँ,गाउँमा सिंहदरबार पुगेको भन्ने गरिन्छ, तर सार्वजनिक सेवा लिन भने दुई दिनको पैदलबाटो हिडनुपर्ने बाध्यता रहेको बताए । जिल्लाका नौ स्थानीय तहमा चार नगरपालिका र पाँच गाउँपालिका छन् ।